|

काठमाडौँ : सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको कार्यविधि तयार भएको छ।

विशेष समितिको आइतवार सिंहदरबारमा बसेको बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरूसँग समेत छलफल गरी कार्यविधि तयार पारेको हो। सहकारी छानबिन सम्बन्धी कार्यादेश निर्माणमा संलग्न सांसदहरू महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारसँग पनि आवश्यक छलफल गरी बैठकले आफ्नो कार्यविधि पारित गरेको विशेष समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए।

त्यसैगरी बैठकले आफ्नो कामलाई अघि बढाउन कार्यसूचीहरू पनि तय गरेको छ। संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरूसँग छलफल गर्ने र आजको सहकारीको समस्याको बारेमा, बचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरू सूचना, तथ्यहरू लिने कामहरू पनि गर्ने गरी कार्यसूची पनि बैठकले तय गरेको विशेष समितिले जनाएको छ।

सभापति थापाले भने, ‘आजको बैठकमा कार्यादेशसँग सम्बन्धित माननीयहरू महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार उपस्थित हुनुभयो। हामीले अरू विभिन्न पक्षसँग पनि उहाँहरूसँग छलफल गर्‍यौँ। त्यस आधारमा हामीले कार्यविधिमा छलफल गर्‍यौं। छलफल गरेर आज समितिको कार्यविधि सर्वसम्मतिले पारित भएको छ।’

विशेष समितिको कार्यविधिमा प्रादेशिक सहकारीसँग सम्बन्धित निकायहरू र सम्बन्धित स्थानीय तहबाट पनि समस्याग्रस्त सहकारीको तथ्य संकलन गर्ने, जानकारी लिने पनि उल्लेख छ। विगतका सहकारी सम्बन्धी प्रतिवेदनहरू विशेष समितिमा अधिकांश आइसकेको र आउन बाँकी पनि छिटो उपलब्ध गराउन सम्बन्धित पक्षलाई सचेत पनि गराइएको विशेष समितिका सभापति थापाले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.