|
फाइल तस्वीर

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको चेन अफ कमाण्ड ब्रेक गरेको र जथाभावी सरुवा आतंक फैलाएको भन्दै आपत्ति जनाएका छन्। 

मंगलवार प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो आरोप लगाएका हुन्। 

सांसद केसीले प्रहरी ऐनविपरीत प्रहरीहरुको जथाभावी सरुवा किन गर्नुपर्‍यो भनि गृहमन्त्री लामिछानेलाई प्रश्न पनि गरे। गृह मन्त्रालयको सय दिनमा गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरुको चेन अफ कमाण्ड नै ब्रेक गर्ने खालको काम गरेको र सुरक्षा निकाय प्रमुखलाई निरीह बनाएको भन्दै आक्रोश व्यक्त गरे। 

गृहमन्त्रीले सय दिनमा १७ पटक प्रहरी र ६६ जना सिडियोहरुलाई परिवर्तन गरेर सरुवा आतंक फैलाएको उनको आरोप थियो ।

‘सय दिनमा १७ चोटी प्रहरीहरू परिवर्तन भए। ३४ सयभन्दा बढि प्रहरीहरु यो ३ महिनामा परिवर्तन भए। ६६ जना सिडिओ र सहायक सिडियो परिवर्तन भएका छन्। सय दिनभित्र यत्रो परिवर्तनको आवश्यकता किन? प्रहरी नियमावलीमा स्पष्ट रुपमा एक वर्षसम्म विशेष परिस्थिति वा काममा खोट देखिएमात्रै परिवर्तन गर्न सकिन्छ,’ सांसद केसीले भने, ‘नभए परिवर्तन गर्न हुन्न भन्ने छ। त्यसरी अहिले सरुवा आतंक, आतंक मात्र होइन, प्रहरीभित्रको चेन अफ कमाण्डलाई लाचार छायाँ बनाउने खालको जुन काम गरिएको छ‚ त्यो गृहमन्त्रीजीबाट आशा गरिएको यो होइन।’

सांसद केसीले प्रहरीभित्रको चेन अफ कमाण्डलाई आफ्नो लाचार छायाँ बनाउने काम नगर्न पनि गृहमन्त्री लामिछानेलाई सचेत गराए।

‘मैले सय दिन धैर्यतापूर्वक हेरेँ तर जुन ढंगको सरुवा आतंक, प्रशासनलाई निरिह छायाँ बनाउने र सुरक्षा अंगहरुमा चेन अफ कमाण्ड ब्रेक गर्ने र प्रमुखहरूमाथि नै बक्रदृष्टि राख्ने खालको स्थिति पुगेको छ‚’ उनले भने‚ ‘त्यस्ता विषयमा गम्भिर हुन म गृहमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु। त्यो सरुवा आतंक किन गर्नुपर्‍यो? ध्यानाकर्षण गराउन चाहेँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.