|

इलाम : जिल्लाको रोङ गाउँपालिका–३ स्थित पाथिभरा मन्दिरमा एक महिनामा ११ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ। पाथिभरा मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले सार्वजनिक गरेको आर्थिक विवरणअनुसार जेठ १ गतेबाट ३२ गतेसम्म ११ लाख ४३ हजार ३७ रुपैयाँ बराबरको नगद, गोप्य दान, शुभ विवाह, शिला र जिन्सीबाट संकलन भएको हो । मन्दिरमा जेठ महिनाको पछिल्लो १६ दिनको अवधिमा सवैभन्दा बढी जेठ १९ गते ९९ हजार ९ सय ७७ संकलन भएको छ। सबैभन्दा कम १० हजार १५ रुपैया संकल नभएको देखिन्छ।

सचिव एगा अर्यालले सार्वजनिक गरेको विवरणअनुसार नगद १० लाख ७३ हजार ५ सय ३७ रुपैयाँ रहेको छ। जसमा पाथिभरा मन्दिरमा ९ लाख ६५ हजार ७ सय ४४ रुपैयाँ नगद रहेको छ। त्यसैगरी, शिद्धदेवी हासपोखरी मन्दिरमा शिला रकम ६१ हजार ९ सय ८९, दानपेटिकामा ४५ हजार ७ सय २४, अनुमानित जिन्सी ६९ हजार ५ सय रहेको छ।

गाउँपालिका अध्यक्षमा मनिकुमार स्याङ्बो निर्वाचित भएपछि २०७९ सालमा मन्दिरको व्यवस्थापन समिति परिवर्तन गरेर गाउँपालिकाको स्वामित्वमा ल्याएर दिलिप राईलाई अध्यक्षको रुपमा जिम्मेवारी दिइएको थियो। छुट्टै एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अब गाउँपालिकामा रहनेगरी ल्याउन लामो समयदेखि पहल भइरहेको थियो।

गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी गाउँसभाबाट २०७९ माघ ११ गते पारित गरेको थियो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार कार्यविधि बनाइ जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिर गाउँपालिकाको स्वामित्वमा ल्याएको हो।

राईको अध्यक्षतामा स्थानीयवासी, माला व्यवसायी, गैरसरकारी संस्था, चन्दादाता, शिक्षक र प्रत्येक वडाबाट एक एक जना गरी १९ सदस्यीय समिति निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिइएको छ। बर्सेनि पाँच लाख भक्तजन भित्र्याएर एक करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य गाउँपालिकाको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.