|

काठमाडौँ : सरकारले युवाहरू रोजगारीका लागि बाध्यात्मक रूपले विदेशिनुपर्ने अवस्था अन्त्य गरी देशभित्रै मर्यादित काम तथा उत्पादनशील रोजगारी पाउने वातावरण सुनिश्चित गर्ने भन्दै सञ्चालन गरेको ‘श्रमाधान रोजगार मेला’ सकिएको छ।

जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशमा उद्घाटन गरेको उक्त रोजगार मेला जेठ ३० गते बागमती प्रदेशमा समापन भई सातैवटा प्रदेशमा सम्पन्न भएको छ। यो मेला सकिएको आज ७ दिन भइसकेको छ तर श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई यो श्रमाधान रोजगार मेलाबाट के कस्तो उपलब्धि मिल्यो भन्ने जानकारी छैन।

श्रममन्त्री डोलप्रसाद अर्यालले असार २ गते १०० दिनको प्रगति विवरण सार्वजनिक गरेकोमा भने तीनै तहका सरकार एवं निजी क्षेत्र र सरोकारवालाहरूको सक्रिय सहभागितामा भएको श्रमाधान मेलाका दौरानमा सातवटै प्रदेशमा जम्मा ४२ वटा श्रमाधान संवाद सञ्चालन गरी श्रम,रोजगार तथा सामाजिक सुरक्षासँग सम्बन्धित कानुनी विषयमा जानकारी गराइएको उल्लेख छ।

मेलामा हजारौं युवाले अवलोकन गरी आन्तरिक तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सूचना तथा जानकारी प्राप्त गरेको, रोजगारदाता तथा रोजगारीको खोजीमा रहेका युवाहरूको बीचमा पुलको काम गर्दै सम्भावित रोजगारीका अवसरहरूसँग जोड्ने काम गरेको पनि उक्त विवरणमा उल्लेख छ।

‘आन्तरिक रोजगारीका लागि हाल सञ्चालनमा रहेको रोजगार व्यवस्थापन सूचना प्रणालीमार्फत प्राप्त तथ्याङ्कलाई राष्ट्रिय रोजगार बैंकमा समावेश गर्न सकिने गरी पूर्वाधार तयार भएको, संघीयता कार्यान्वयनका क्रममा तहगत सरकारका बीचमा सहकार्य तथा समन्वयको राम्रो उदाहरण सहित श्रमाधान रोजगार मेलामा संघीय मन्त्रालय, प्रदेश सरकार र स्थानीय सरकार तीनवटै तहको सक्रिय सहभागिता रहेको, निजी क्षेत्र, गैरसरकारी क्षेत्र र अन्ताराष्ट्रिय समुदायको अर्थपूर्ण साझेदारी रहेको छ’, प्रगति विवरणमा उल्लेख छ।

तर के कतिले रोजगारी पाए, कतिले आवेदन दिए भन्ने केही तथ्यांक छैन। बरु सरकारले १४ दिनसम्म सञ्चालन गरेको श्रमाधान रोजगार मेलामा ७० लाखभन्दा बढी खर्च भएको छ। श्रम मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी कृष्णप्रसाद भुसालले प्रत्येक प्रदेशमा १०/१० लाख गरी करिब ७० लाख खर्च भएको जानकारी दिए।

नेपालमै रोजगारीको प्रबन्ध गर्न माग

सरकारले नेपालमै युवाहरूलाई रोजगारीको सिर्जना गरी विदेश पलायनको बाध्यता अन्त्य गर्न नसकेको भन्दै सांसदहरूले आक्रोश पोखेका छन्। सांसद पुष्पबहादुर शाहले पछिल्लो तथ्यांकअनुसार ११ महिनामा ६ लाखभन्दा बढी युवाहरू विदेश पलायन भएको जानकारी दिँदै नेपालमै टिकाइराख्ने केही योजना सरकारको नभएको बताए।

आज(बुधबार) प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘युवाहरूलाई विदेश पलायनलाई रोक्नका लागि प्रभावकारी कार्यक्रमहरू अघि बढाउन जरुरी छ, खाली रेमिट्यान्स आउनेमा मात्रै केन्द्रित हैन, कसरी देशमै अवसर दिने भन्ने बजेटले बोलेको छैन।’

अर्का सांसद प्रेम सुवालले पनि सरकारले दैनिक ६-७ हजार युवा विदेश पठाउने गरेको बताए। उक्त छलफलमा भाग लिँदै उनले भने, ‘युवाहरूलाई नेपालमै बाँच्न दिनुपर्छ। त्यसैले युवा मन्त्रालयले युवाहरू कहाँ छन्, रोजगार,शिक्षा पाए पाएनन् भनी चिन्ता लिनुपर्‍याे,हरेक युवाहरूको मनको पीडा बुझिदिनुपर्छ‚ नभए मन्त्रालय र मन्त्रीको के काम, किन राख्नु?।’ 

श्रम मन्त्रालय भन्छ : विवरण आउन बाँकी छ

श्रम मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी भुसालले श्रमाधान रोजगार मेलामा के कतिले रोजगार पाए,कतिले आवेदन दिएलगायत विवरण आउन बाँकी रहेको जानकारी दिए। उनले सबै प्रदेशबाट विवरण आएपछि पत्रकार सम्मेलन गरी यसको उपलब्धिबारे जानकारी दिने योजना रहेको बताए।

उनले भने, ‘श्रमाधान रोजगार मेला सकिइसकेको छ तर अझै सबै प्रदेशबाट रिपोर्ट आएको छैन,हामीले पठाउनु भनेका छौँ, रिपोर्ट आएपछि पत्रकार सम्मेलन गरेर जानकारी दिन छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.