|

काठमाडौँ : नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ। 

बुधवार काठमाडौँमा लागुऔषध दुर्व्यसनी, कानूनी कारबाही र हालको व्यवहारबारे पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराएको छ। गृह मन्त्रालयको प्रतिवेदनअनुसार २०७६ मा देशभर अनुमानित १ लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता थिए। कुल लागुऔषध प्रयोगकर्तामध्ये ७ प्रतिशत महिला पाइएको बताइएको छ। 

प्रयोगकर्तामध्ये पनि ६९ प्रतिशत अर्थात ९० हजारभन्दा बढी प्रयोगकर्ताले सुईबाट लागुऔषध प्रयोग गर्ने गरेका पाइएको छ। सर्वेक्षणले नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या २०६३ सालको पहिलो सर्वेक्षणको तुलनामा तीन गूणाले बढेको देखाएको छ। 

लागुऔषध प्रयोगकर्ता बढ्दै जानुले नेपाली समाजमा थप चिन्ता पैदा गरेको रिकभरिङ नेपालका कार्यक्रम व्यवस्थापक राजु जोशीले बताए। उनले एउटा लागुऔषध प्रयोगकर्ताले आफ्नो जीवन कसरी त्यहाँसम्म पुर्‍यायो भन्ने हिसाबले सरकारले सोच्न जरुरी रहेको औँल्याए।

नेपालमा अधिकांश (७५ प्रतिशत भन्दा बढी) प्रयोगकर्ता १५ देखि २४ वर्ष उमेर समूहका छन्। उनीहरुलाई फौजदारी मुद्दा वा दण्डको सट्टा तथ्यमा आधारित उपचार सेवाको पहुँच प्रदान गर्न आवश्यक रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.