|

काठमाडौँ : प्रतिनिधिसभा सदस्य प्रभु साहले सांकेतिक विरोध प्रदर्शनमा उत्रिएका कवाडी व्यवसायीमाथि प्रहरीको लाठी चार्जबारे उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग जवाफ मागेका छन्।

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांकेतिक प्रदर्शनका क्रममा कवाडी व्यवसायीमाथि भएको प्रहारबारे सरकारको जवाफ माग गरेका हुन्। उनले सांकेतिक विरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक भएको उल्लेख गरे।

उनले प्रहरीको लाठी चार्जका कारण मंगलवार बानेश्वरमा आन्दोलनका क्रममा ५० जना घाइते भएको र एक दर्जनभन्दा बढी गम्भीर घाइते भएको बताए।

साहले भने, ‘सांकेतिक विरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक हो। लोकतान्त्रिक हक हो तर हिजो कवाड व्यवसायीहरू सांकेतिक जुलुसमा थिए। सांकेतिक आन्दोलनमाथि प्रहरीले निर्मम प्रहार गरेको छ। ५० जना जति घाइते छन्। एक दर्जन जति त गम्भीर घाइते भएका छन्। म गृहमन्त्रीको भनाइ चाहन्छु, सांकेतिक जुलुसमा किन लाठी प्रहार भयो?’

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले कवाडी व्यवसायीमाथि सरकारले दमन गरेको बताए। उनले मधेशी जनतामाथि प्रहरीले दमन गर्नुले फेरि रंगभेदको आन्दोलन शुरु हुने खतरा देखिएको बताए। उनले आन्दोलनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइते भएकाहरूको निःशुल्क उपचारको माग गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.