|

काठमाडौँ : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानूनी परामर्श शुरु गरेको छ।

बुधवार संसद भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानून आयोगलगायतका पदाधिकारीहरुसँग छलफल गरेको हो। 

बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगका सचिवसहितका अधिकारीहरुसँग परामर्श गरेको बताए। 

उनले कानूनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषयलगायतका प्रश्नहरुमा छलफल भएको बताए। उनले नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमलचन्द्र अर्याल र नेपाल कानून आयोगका सहसचिव पाश्र्वत ढुंगानासँग छलफल भएको बताए।

‘आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगका सचिवसहितका अधिकारीहरुसँग हामीले परामर्श र छलफल गरेका छौँ। यो हाम्रो कार्यादेशसँग सम्बन्धित विषयहरुमा कतिपय कानूनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषयलगायतका प्रश्न पनि सँगसँगै थिए‚’ उनले भने, ‘ति सबै सन्दर्भमा संविधान, कानून र हाम्रा अभ्यासहरुले गरेका प्रवन्धहरुका सन्दर्भमा स्पष्टता महशुस भयो र त्यसका निम्ति हामीले उहाँहरुलाई आमन्त्रण गरेका थियौँ। नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमलचन्द्र अर्याल र नेपाल कानून आयोगका सहसचिव पाश्र्वत ढुंगाना उहाँहरु हाम्रो आमन्त्रणमा आउनुभएको थियो। अर्को बैठक १० गते बस्नेछ।’

आन्तरिक प्रतिवेदनहरु संकलनका काम जारी रहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.