|
फाइल तस्वीर

सुर्खेत : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ।

कर्णाली प्रदेशसभाको आजको बैठकको शुरुमा नेपाली कांग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सरकारले ल्याएको बजेटमा आवश्यक संशोधन तथा उठाएका विषयको जवाफ आउनुपर्ने माग गरे। 

उनको भनाइपछि जवाफका लागि आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी रोष्ट्रममा पुग्ने बित्तिकै कांग्रेस प्रदेशसभा सदस्यले बैठक अवरुद्ध गरे। 

सरकारका मन्त्रीले जवाफ दिइरहँदा र सभाको कामकारबाही चलिरहेका वेला बैठक अवरोध गर्नु प्रदेशसभा नियमावलीविपरीत हो भन्दै सभामुख नन्दा गुरुङले नियमापत्ति मात्र जनाउन पाइने तर अवरोध गर्न नपाइने जिकिर गरिन् तर पनि कांग्रेसले आफ्नो अडान छाडेन।

यसैबीच, सत्तापक्षका प्रदेशसभा सदस्य विन्दमान विष्टले प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम २१ को दफा ६ र २२ को दफा ‘च’ अनुसार नियम उल्लंघन गरेको भन्दै नियमापत्ति जनाए।

कांग्रेस प्रदेशसभा सदस्य वेदराज सिंहले सत्तापक्षका सदस्यले प्रदेशसभा नियमावलीको नियम ‘च’ देखाएर प्रतिपक्षीलाई नधम्क्याउन चेतावनी दिए। 

उनले भने, “दलीय धारणा राख्न पाइन्छ, त्यही व्यवस्थाबमोजिम आफ्नो अधिकार प्रयोग गरेका छौँ। अबण्डा रकम राख्न पाइन्न, समपूरक र विशेष अनुदान छुटेका क्षेत्रमा सशर्त अनुदानमार्फत सम्बोधन हुनुपर्छ।” 

सरकारले जवाफमा अड्काउनुभन्दा दस्तावेजीकरण गरेर आफ्ना माग सम्बोधन गर्न उनले आग्रह गरे।

बजेट पुनर्लेखन नभएसम्म सदनका कुनै पनि कारबाही अगाडि बढ्न नसक्ने कांग्रेसको अडानपछि सभामुख गुरुङले आधा घण्टाका बैठक स्थगित भएको सूचना गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.