|

ललितपुर : नेपालमा मस्तिष्क मृत्यु भएकाको अङ्गदानबाट १३ जनाले स्वस्थ्य जीवन बिताइरहेका छन्। 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा पुकारचन्द्र श्रेष्ठका अनुसार मिर्गौला र कलेजो फेल भई केन्द्रमा उपचार गराउन आएकामध्ये मृतकको अङ्गदानबाट १० जनाको मिर्गौला र तीन जनाको कलेजो प्रत्यारोपण गरिएको थियो। उनीहरु अहिले स्वस्थ्य जीवन बिताइरहेका छन्।

स्यस्यः समाज यल इलाका नं. ८ इखाछें ललितपुरको आयोजना तथा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा आज महालक्ष्मी स्थानमा आयोजित मानव अङ्गदानसम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रा डा श्रेष्ठले जीवित र मृत शरीरबाट निकालिएको मिर्गौला, कलेजो र मुटु तथा अन्य अङ्ग एक हजार तीन सय जनामा प्रत्यारोपण गर्दा ९९ प्रतिशत सफल भएको जानकारी गराए।

“अस्वस्थ जीवनशैली, सहरीकरण र अखाद्य खानपिनका कारण मिर्गौला, कलेजो र मुटु, क्यान्सर, श्वासप्रश्वास, मधुमेह, उच्च रक्तचापका रोग लाग्ने गर्छन्, विश्वभर हरेक वर्ष २० हजार मानिसको मिर्गौला फेल हुने गरेको तथ्याङ्क छ”, उनले भने,  “सन् २०१० मा गरिएको सर्वेक्षणअनुसार नेपालमा प्रत्येक वर्ष तीन हजारको मिर्गौला र एक हजारको कलेजो फेल हुने गरेको तथ्याङ्क छ। मस्तिष्क मृत्यु भएकाबाट अङ्गदान गरेर फेल भएकाको जीवन बचाउन सकिन्छ।”

उनले नेपालमा ७२ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको तथ्याङ्क प्रस्तुत गरे। हैजा, मलेरिया, डेङ्गुलगायत सरुवा रोगबाट २८ प्रतिशत मानिसको मृत्यु हुने गरेको जानकारी दिए।

नेपालमा अङ्ग प्रत्यारोपणको काम सन् २००८ मा वीर अस्पतालबाट भएको र शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपणबाट सेवा सुरु भएको थियो। मिर्गौला प्रत्यारोपण सेवाको सुरुवातमा ९० प्रतिशत सफल भएकामा अहिले शतप्रतिशत सफल भएको उनको भनाइ छ।

पछिल्लो पाँच वर्षमा पाँच सय जनाभन्दा बढी मृगौला प्रत्यारोपण सफल भएको उनले बताए। मस्तिष्क मृत्यु भएकाको अङ्गदानबारे थप चेतनामूलक प्रचार गर्न हरेक वर्ष जागरण अभियान सुरु गरेको उनले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.