साना व्यवसाय प्रवर्धन र जलवायु प्रतिरोधात्मक क्षमता वृद्धि गर्न खर्च हुने

|

काठमाडौं :ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ। यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हालै हस्ताक्षर गरे। 

यो ऋण लघु, साना तथा मझौला उद्यमहरुलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न र महिलाहरुद्वारा सञ्चालित व्यवसायको क्षमता अभिवृद्धि गर्न परिचालन गरिनेछ। 

लघु, साना तथा मझौला उद्यमको संख्या नेपालमा दर्ता कुल व्यवसायको ९५ प्रतिशतभन्दा बढी रहेको छ भने यसले ४५ प्रतिशतभन्दा धेरै रोजगारी सृजना गरेको छ। यसका बाबजुद, लघु, साना तथा मझौला उद्यमहरुले लगानीको ठूलो अभाव झेलिरहेका छन्। 

‘नेपालमा लघु, साना तथा मझौला व्यवसाय र जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी परियोजनालाई सुदृढ बनाउन ग्लोबल आइएमई बैंकसँग साझेदारी गर्न पाउँदा हामीलाई खुशी लागेको छ’, अल्खलिफाले भने, ‘यी क्षेत्र दिगो आर्थिक वृद्धि र जलवायु परिर्वतनको प्रतिरोधात्मक क्षमताका लागि निकै महत्त्वपूर्ण छन्। हाम्रो यस ऋणले लगानीको अभाव सामना गरिरहेका विभिन्न क्षेत्रमा वित्तीय पहुँच बढाउँदै समावेशी विकासलाई प्रवर्धन गर्नेछ।’

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले यो सहयोगले महिलालाई आर्थिकरूपमा सशक्त बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे। ‘यो ऋण सम्झौताले दिगो विकास लक्ष्य हासिल गर्न र जलवायु तथा लैंगिक वित्तमार्फत त्यस क्षेत्रमा देखिएको स्रोतको अभावलाई परिपूर्ति गर्न महत्वपूर्ण सहयोग गर्नेछ’, उनले भने, ‘साथै, नेपालमा हरित ऊर्जा क्षेत्रको स्रोत अभावलाई सम्बोधन गर्दै महिलाहरुलाई आर्थिकरूपमा सशक्त बनाउन सहयोग गर्नेछ।

ओपेक फण्डले बैंकिङ्ग, ऊर्जा, कृषि, यातायात र शिक्षासहित विभिन्न क्षेत्रमा वित्तीय सहयोगको प्रतिबद्धता जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.