|

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १८ सामुदायिक (सरकारी) र निजी विद्यालय छनोट गरी नेपाली सेनाले राष्ट्रिय सेवा दल ‘जुनियर डिभिजन’ तालिम शुरुआत गरेको छ।

सुदूरपश्चिम पृतना अत्तरिया तेघरीका अनुसार छनोट भएका विद्यालयमा सेनाका वाहिनी, गण तथा गुल्मपतिले सो तालिम थालनी  गरेका हुन्। 

यहाँ कञ्चनपुरका ६, कैलालीका ३, डडेल्धुरा र दार्चुलाका २/२, बाँकी डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीका १/१ विद्यालयमा सो तालिम शुरु भएको पृतनाले जनाएको छ। 

युवा वर्गलाई अनुशासित, बफादारिता तथा इमान्दारिता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउन नेपाली सेनाले हरेक वर्ष राष्ट्रिय सेवा दलको जुनियर र सिनियरतर्फको तालिम विद्यालयमा सञ्चालन गर्दै आएको छ।

यस क्रममा शुक्रवार महेन्द्रनगरस्थित श्री राष्ट्रिय बाल विद्यालयमा पनि सो तालिमको श्री नं २५ वाहिनी अड्डाका वाहिनीपति सहायकरथी मनोज थापाले शुभारम्भ गरे। 

उक्त कार्यक्रममा कञ्चनपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, सेनाको रुद्रध्वज गणका गणपति प्रमुख सेनानी दीपक खड्का, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बल नं ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्द, श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजङ्ग ठकुरी, कञ्चनपुर उद्योग वाणिज्य स‌ंघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल, राष्ट्रिय विद्या निकेतनका प्रधानाध्यापक महेश भट्टलगायतको सहभागिता रहेको थियो।

जुनियर डिभिजन तालिममा छनोट भएका विद्यालयका मावि तहमा अध्ययनरत १८ छात्रा र १८ छात्र गरी ३६ जना सहभागी रहने सेनाले जनाएको छ। 

सेनाले दिएको जानकारीअनुसार २०२२ सालदेखि मुलुकमा सेनाले विद्यार्थीलाई सो तालिम दिँदै आएको र हालसम्म ७४ हजारभन्दा बढी विद्यार्थीले तालिम लिइसकेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.