|

काठमाडौँ : नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आइतबार (असार १६) देखि काठमाडौँमा शुरु हुँदै छ। २०७८ भदौमा एमालेबाट विभाजित भई बनेको यो पार्टीले राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै छ। 

महाधिवेशन शुरु हुन केही घण्टामात्र बाँकी छँदा पनि नेतृत्वमा रस्साकस्सी जारी छ। पार्टीको भावी नेतृत्वका लागि वर्तमान अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल दाबेदार हुन्। उनीहरू तीनैजनाले आफ्नो पक्षमा सहमति चाहिरहेका छन्।   

विगतका धेरै कम्युनिष्ट आन्दोलन हुँदै एमाले विद्रोह गरेर पार्टीलाई यहाँसम्म ल्याएकाले पुनः एकपटक नेतृत्वमा दोहोरिने चाहना नेपालको छ। उनले गरेका ती साहसिक कदमको सम्मानस्वरूप सर्वसम्मत रूपमा नेपाललाई नै पुनः नेतृत्व सुम्पनुपर्ने उनीनिकटका नेताहरूको तर्क छ। 

नेतृत्व हस्तान्तरणको पक्षमा उभिएका सम्मानित नेता खनालले भने पार्टीलाई नयाँ गतिका साथ समाजवादको बाटोमा अघि बढ्न आफूले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएका छन्। उमेरले ७० नाघिसकेका अघिल्ला पुस्ताका यी दुबै नेताहरूले अब विश्राम लिएर दोस्रो पुस्ता (आफू)लाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने महासचिव भुसालको तर्क छ। 

भावी नेतृत्वका लागि यसरी रस्साकस्सी चलिरहेकै वेला अध्यक्ष नेपाल नै गुटगत भेला चलाएका विवरण बाहिरिएका छन्। स्रोतका अनुसार मधेशमा बाहेक सबै प्रदेशमा नेपाल इतरका महाधिवेशन प्रतिनिधिहरूको बाहुल्य छ। आफूइतरका प्रतिनिधिहरू धेरै भएकाले निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने अवस्था बने पराजित हुने भयले आफ्नो पक्षमा माहोल बनाउन अध्यक्ष नेपाल लागिपरेको बताइन्छ। 

बानेश्वरको अर्याल होटल र मदन भण्डारी स्कुल अफ साउथ एशिया नामक एनजिओको अफिसमा नेपालले भेलाहरू गरेको स्रोतको दाबी छ। गुटगत भेला र गतिविधि नगर्न तल्ला कमिटीमा आफैंले जारी गरेको सर्कुलरविपरीत संस्थापन पक्ष गुटबन्दीमा लागेको चर्चापछि अध्यक्षका अर्का प्रत्यासी खनालले आपत्ति जनाए। 

महाधिवेशन तयारीबारे जानकारी गराउन शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सोधिएका प्रश्नमा नेता खनालले भने, ‘गुटबन्दी नै भएको छ भने यो गलत हो। यो समग्र रूपले अस्वीकार्य छ।’  

अध्यक्ष नेपालले गुटबन्दीको आरोप सिधै खण्डन गर्न भने सकेनन् तर उनले महाधिवेशनको सम्मुखमा हुने यस्ता भेटघाट तथा छलफललाई सामान्य रूपमा लिनुपर्ने बताए। 

‘महाधिवेशन आउँदै गर्दा भेटघाट, कुराकानी र छलफल हुन्छ। कोही रेस्टुरेन्टमा जान्छन्, कोही होटलमा जान्छन्, चिया खान्छन्, यत्रा कार्यकर्ता छन्, होटल भरिएका पनि होलान्’, उनले भने, ‘तर तपाईँको भनाइको अर्थ के भने नेताहरू मिलेर अघि बढून्, गुटबन्दी नहोस्, विगतमा पनि गुटबन्दीले ठूलो क्षति भयो, थप क्षति नहोस् भन्ने सद्‌भावका रूपमा बुझेको छु। यो प्रशंसनीय छ।’ 

नेता कार्यकर्तालाई देखाउँदै आफूलाई सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने आशय पनि नेपालले व्यक्त गरे। ‘छलफल र बहसपछि सर्वसम्मत रूपमा हामीले चारवटै दस्तावेजहरू अघि सारेका छौँ। यो सुन्दा हाम्रा पार्टी सदस्यहरू, कार्यकर्ताहरू खुसी हुनुभएको छ’, उनले भने, ‘पार्टीको नेतृत्वमा पनि मिलेर नेताहरू हातेमालो गर्दै सहमतिका साथ अघि बढून् भन्ने उहाँहरूको चाहना छ।’  

अध्यक्ष नेपालले आफ्नो नेतृत्वको एकीकृत समाजवादीले नेपालको राजनीतिक उथलपुथलहरूमा अग्रगामी भूमिका खेल्नुका साथै सफलतापूर्वक चुनौतीको सामना गरेको दाबी पनि गरे। 

यता नेता खनालले आफूले तयार पारेको समाजवादी कार्यक्रममा पार्टी अघि बढ्न लागेकाले आफूलाई नै सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताउँदै आएका छन्। अहिले नेतृत्वको सन्दर्भमा छलफल नै भइरहेकाले चाँडै निष्कर्षमा पुग्ने बताए।

आफू दाबीबाट पछि नहट्ने संकेत गर्दै सहमति नभए निर्वाचन लड्न पनि तयार हुने बताए। ‘हाम्रो आन्तरिक कुरा छ, तपाईँहरूलाई चाँडै निष्कर्षमा सुनाउँछौं’, उनले भने, 'अब केही गर्दा भएन, हाम्रो बीचमा केही गर्दा पनि मिलेन, मिल्दै नमिलेपछि हामीले लोकतन्त्रको बाटो लिनुपर्छ कि पर्दैन? लोकतान्त्रिक विधिबाट हामी नेतृत्व निर्माण गर्नेछौँ।'

पत्रकार सम्मेलनमा खनालले आफूहरूले अघि बढाएको समाजवादी कार्यक्रमले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ वैचारिक भूकम्प सृजना गर्ने दाबी गरे।

‘हामी मूलधार हौं भन्ने कम्युनिष्ट पार्टीहरू छन् तर उनीहरूले समाजवादी कार्यक्रमको बारेमा चिन्तन मनन गरेका छैनन्। हिजोकै कार्यक्रमको घोडा चढेर हिँडिरहेका छन्। यसबाट समाजवादमा पुगिनेवाला छैन’, उनले भने, ‘अबको अवस्थामा आवश्यक भनेको समाजवादी कार्यक्रम हो। पहिलो पटक नेपालको कम्युनिष्ट आन्दोलनमा यो कार्यक्रम हामीले अघि सार्दै छौँ। यो भनेको नेपालको समाजवादी कार्यक्रमको सिंगो शृंखलाको कार्यक्रम हो। यसले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ वैचारिक भूकम्प सृजना गर्नेछ। जसले नेपालको समग्र कम्युनिष्ट आन्दोलनलाई रूपान्तरण गरेर समाजवादको दिशातर्फ लैजाने कुरा सुनिश्चितता गर्नेछ।’

सबै आकांक्षीहरूले आफ्नो नाममा सर्वसम्मति होस् भन्ने चाहेका छन्। कसैको नाममा सहमति हुन नसकेमा अन्तिममा सम्मानित नेता खनाल र महासचिव भुसाल एक भएर लाग्न सक्ने विश्लेषण भइरहेको छ। केही दिनअघि पनि भुसाललाई समर्थन गर्न खनाल तयार भएको भनिएको थियो तर केही दिन नबित्दै उक्त सहमति भंग भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.