दुई सय ९९ सदस्यीय कार्यसमिति र २१ पदाधिकारी चयन गर्ने

|

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ। यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ। 

महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन्। ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ। पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्ने छन्।

पार्टी अध्यक्ष माधव नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ। काठमाडौँ उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको छन्। 

महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ। महाधिवेशनस्थललाई आकर्षक बनाउन सिगारिएको छ।  

करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ। एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ। 

महाधिवेशनका सन्दर्भमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिए। ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे।

सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट पारित हुने वैचारिक दृष्टिकोण तथा कार्यक्रमका आधारमा नेतृत्व चयन गरिने जानकारी दिए। उनले नेतृत्वमा सहमति हुन नसके लोकतान्त्रिक पद्धतिबाट प्रक्रिया अगाडि बढाउनुपर्छ भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.