|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले सबै कम्युनिष्टहरूको निम्ति एकताको आधार पुष्पलाल हुनसक्ने बताएका छन्। 

शनिवार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पुष्पलालको चर्चा गर्दा गम्भीर हुन आवश्यक रहेको बताए। उनले अन्त गएर केन्द्रित हुन खोजे कम्युनिष्टहरू सबैलाई एक ठाउँमा ल्याउन कठिन रहेको बताए।

उनले पुष्पलालमा केन्द्रित भएर एकता गर्ने कोसिस गर्न आग्रह गरे। उनले पुष्पलालमा केन्द्रित भएर गरिएको एकता दिगो, दर्शन, सिद्धान्त, राजनीतिक उद्देश्य र निष्ठामा आधारित हुने विश्वास व्यक्त गरे।

प्रचण्डले भने, ‘हामी सबै कम्युनिष्टहरूको निम्ति एकताको आधार पुष्पलाल नै हुनसक्ने देख्छु। त्यसकारण पुष्पलालको चर्चा गर्दा हामी धेरै गम्भीर हुन पनि जरुरी छ। यो रणनीतिक महत्त्वको पनि छ। हामी अन्त गएर केन्द्रित हुन खोज्यो भने कम्युनिष्ट पार्टी सबैलाई एक ठाउँमा ल्याउन धेरै गाह्रो छ। मेरै कुरा गर्‍यौँ भने २०७४ को निर्वाचन अघिपछि कम्युनिष्टहरूलाई एकताबद्ध गरेर दुई तिहाइ बहुमत ल्याएर समाजवादको आधार निर्माण गर्न सकिन्छ भन्ने मान्यताबाट एकता गरियो तर टिकाउन सकिएन, टिकेन। हामीले पुष्पलालमा केन्द्रित भएर एकता गर्ने कोसिस गरौँ। त्यसो गरे दिगो हुन्छ। किनभने त्यो दर्शनमा, सिद्धान्तमा आधारित हुनसक्छ। निष्ठा र राजनीतिक उद्देश्यमा आधारित हुनसक्छ।’

प्रधानमन्त्री दाहालले पुष्पलालको बारेमा पुनः एकपटक अध्ययन हुन, चिन्तन मनन गर्न आवश्यक रहेको बताए। उनले दोष जति अरूको थाप्लोमा हालेर आफू दूधले नुहाएको भन्ने प्रवृत्तिले कम्युनिष्ट पार्टीलाई एकताबद्ध हुन नदिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.