|

काठमाडौँ : निर्वाचन प्रक्रिया तत्काल शुरु गर्न दबाव दिँदै नेपाल पत्रकार महासंघमा नाराबाजीसहितको प्रदर्शन गरिएको छ।

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि शनिबार मनोनयन दर्ता गर्ने कार्यक्रम अघि नबढेपछि अध्यक्ष विपुल पोखरेलको राजीनामा माग गर्दै प्रेस चौतारी नेपाल, प्रेस सेन्टर, नेपाल लगायतका पत्रकारहरूको संघ, संगठनले काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका हुन्।

महासंघले निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारहरूले मनोनयन गर्ने कार्यतालिका थियो। काँग्रेस निकट प्रेस युनियन नेपालले सदस्यता नवीकरणमा असहमति जनाउँदै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि प्रेस चौतारी नेपाललगायतका पत्रकारले निर्वाचन प्रक्रियामा तलमाथि नगर्न चेतावनी दिँदै महासंघको नेतृत्वविरुद्ध नाराबाजी गरेका हुन्।

उम्मेदवारी दर्ता गर्ने महासंघको हरेक सदस्यको अधिकार सुरक्षित गराउन आफूहरूले महासंघको नेतृत्वको ध्यानाकर्षण गराएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले बताए।

उनले निर्वाचन कार्यतालिका अनुसार मनोनयनको काम अघि नबढाएर निर्वाचन समिति र महासंघको नेतृत्व चुनाव हार्ने डरले भागेको भन्दै आक्रोश व्यक्त गरे। अध्यक्ष बस्नेतले निर्वाचनबाटै निर्वाचित महासंघका अध्यक्ष पोखरेलले निर्वाचनबाट भाग्ने खालको गतिविधि गर्न नहुने पनि बताए।

उनले भने, ‘प्रेस चौतारी नेपालका तर्फबाट नोमिनेशन दर्ता गर्न म अध्यक्षको उम्मेदवारसहित आएको थिएँ। यहाँ त ताला लागेको रहेछ। निर्वाचन समितिका पदाधिकारीहरू कहाँ हुनुहुन्छ? हामीले थाहा पाएका छैनौँ। साथीहरूले मनोनयन गर्ने ठाउँ नपाएपछि गर्नुभएको होला नाराबाजी। नेपाल पत्रकार महासंघका जति सदस्य साथीहरू हुनुहुन्छ। हरेक सदस्यलाई उम्मेदवारी मनोनयन गर्ने अधिकार छ। उहाँहरू स्वतस्फूर्त रूपमा उम्मेदवारी मनोनयन गर्न आउनु भयो।’

नेपाल पत्रकार महासंघको निर्वाचन यही असार २२ गते तोकिएको छ। त्यसका लागि असार १५ गते (आज) मनोनयन कार्यतालिका तय गरिएको थियो तर नेपाल प्रेस युनियनबाट निर्वाचित महासंघको नेतृत्वको निर्वाचन भाँड्ने काम गरेको प्रेस चौतारी नेपालको आरोप छ।

अध्यक्ष गणेश बस्नेतले महासंघलाई वैधानिक रूपमा अघि बढाउन पनि यसको निर्वाचन प्रक्रियालाई अघि बढाउनुको विकल्प नरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.