|

भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले खेतीयोग्य जमिन खण्डीकरण भएर घडेरीमा परिणत हुनु चिन्ताको विषय भएको बताएका छन्।

एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा आज अखिल नेपाल किसान सङ्घले चाँगुनारायण नगरपालिका‐९ ताथली माथिल्लो सौडोलमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा उनले जथाभावी जग्गा खण्डीकरण रोक्नु आवश्यक रहेको बताए।

उनले भने, “जग्गा खण्डीकरण भएर खेतीयोग्य जमिन मासिँदै छ, आजको दिनलाई धान दिवस होइन, घरेडी दिवस भनेर व्यङ्ग्य गर्न थालिसकेका छन्। खेती भइरहेका जग्गालाई पनि आवश्यक मल छैन, गुणस्तरीय बीउबिजन छैन। किसानको समस्या समाधान गर्नेगरी सरकार अगाडि बढ्नुपर्छ।”

उनले किसानलाई जतिबेला चाहियो त्यतिबेला मल, गुणस्तरीय बीउबिजन र आवश्यकतानुसार सिँचाइको प्रबन्ध हुनेगरी व्यवस्था गर्नुपर्ने आवश्यक औँल्याउँदै सरकारले मल काराखाना खोल्नुपर्ने बताए।

उपमहासचिव ज्ञवालीले भने, “वास्तविक रूपमा कृषिलाई पेसा बनाउनेलाई पुग्नेगरी भाडामा जग्गा दिने व्यवस्था गरिनुपर्छ, त्यहाँ पर्याप्त सिँचाइको व्यवस्था गरिनुपर्छ, गुणस्तरीय बीउबिजन र आधुनिक प्रविधिको व्यवस्था गरिनुपर्छ।”

उनले राज्यको दिने अनुदान सिधै किसानको हातमा जानेगरी व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले विदेशबाट गुणस्तर परीक्षण नगरी  आउने बीउबिजन र विषादीको आयातलाई रोक्नुपर्ने औँल्याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.