|

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेताको प्राथमिकता फरक पर्दा मुलुक अफ्ठ्यारोमा परेको बताएका छन्। उनले मुलुकलाई अफ्ठ्यारोमा जनता र किसानले नभई राजनीतिक नेतृत्वले नै पारेको आरोप लगाए। 

आइतवार काठमाडौँमा नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले मुलुक अफ्ठ्यारोमा छ भनेर विसं २००७ सालदेखि भन्दै आएकाले मुलुक कहिल्यै पनि अनुकूलतामा नहुने स्पष्ट भएको बताए। उनले नेपालीको प्राथमिकता र राजनीतिक नेतृत्वको प्राथमिकता एउटै हुन नसकेको दावी गरे।

‘मुलुक सधैँ खतरामा हुने रहेछ‚ परिस्थिति कहिल्यै अनुकूल हुने रहेनछ‚ सधैँ अफ्ठयारो पर्ने रहेछ। त्यो अफ्ठ्यारो के नेपाली जनताले पारेका हुन्? किसान, मजदुरले, काम गरेर खाने मान्छेहरुले कसले अफ्ठ्यारोमा पार्‍यो?‚’ उनले भने, ‘जब जनता र नेतृत्वको प्राथमिकतामा फरक आउँछ‚ त्यतिवेला मुलुक जहिले पनि अफ्ठ्यारोमा पर्छ। नेपालमा जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै भएन‚ अलग अलग भयो।’

उनले नेताहरुले देश बनाउने कुरामा चिन्ता गर्न आवश्यक रहेको बताए। उनले लोकतन्त्र खतरामा भए नेताहरुले चिन्ता गर्ने कुरा नरहेको र जनताले लोकतन्त्र बचाइदिने बताए।
‘लोकतन्त्रको चिन्ता नेताहरुले गर्नुपर्दैन। लोकतन्त्र खतरामा भए जोगाइदिने कार्यकर्ता छन्, जनता छन्। नेताहरुले चिन्ता गर्नुपर्दैन‚’ उनले भने‚ ‘के आजसम्म नेतृत्वले ठूला विश्वविद्यालय बनेनन्‚ कसरी बनेनन् आउनुस् यसमा छलफल गरौँ भनेर सर्वदलीय बैठक बोलाएको सुनेका छौँ?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.