|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्रान्डिङ’ सम्भाव्यता अध्ययन शुरु गरेको छ। नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेको छ। 

जन्म मृत्युबीचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा बिदाइ गर्दा आफैँले उत्पादन गरेको पेय पदार्थ (ऐला, ठोँ) लाई गुणस्तरीय मानिन्छ। यसरी उत्पादन हुने गुणस्तरीय पेय पदार्थलाई ब्रान्डिङ गरेर विश्व समक्ष पुर्‍याउने सम्भावना अध्ययनबाट हेर्न लागिएको महानगरपालिकाले जनाएको छ। यो कार्यक्रमलाई सहकारी विभागले अगाडि बढाएको महानगरपालिकाले जनाएको छ। 

‘मदिरा ऐनले यस्ता वस्तुको प्रवर्द्धन रोकेको छ‚ यसरी रोक्नुको अर्थ अध्ययन गर्न नपाउनु भन्ने होइन,’ छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता पहिचान बढाउन सहयोग पुग्ने देखियो भने कानुनी व्यवस्था संशोधन गरेर भए पनि सम्भावनालाई नतिजामा रुपान्तरण गर्नुपर्छ।’ 

छलफलमा ज्यापू महागुथि नेपा, महानगर समिति, गुंलाबाजं संरक्षण तथा व्यवस्थापन समिति, नेपाल खड्गी सेवा समिति, नेपाल राष्ट्रिय खड्गी समाजअन्तर्गतका विभिन्न गुथि खलःका प्रतिनिधिहरु सहभागी थिए।

उनीहरुले पेय पदार्थ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, उत्पादन प्रक्रिया, मात्रा, समयावधि, भण्डारण विधि, प्रयोग विधिलगायतका विषयमा जानकारी दिँदै, महानगरपालिकाले अगाडि सारेको कार्यक्रमले नेवाः सभ्यता अन्तरराष्ट्रियकरण हुनमा ठूलो योगदान हुने प्रतिक्रिया दिए। 

छलफलमा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले स्थानीयको भावना र अध्ययनले देखाउने आवश्यकता विश्लेषण गरेर आगामी दिनका कार्यक्रम सञ्चालन गरिने बताए।

विभागका दर्ता प्रवर्द्धन महाशाखा प्रमुख सन्तु श्रेष्ठका अनुसार आफैँ प्रयोग गर्न प्रयोजनका लागि मादक पदार्थ उत्पादन गर्न पाइने व्यवस्था छ। यस्तो उत्पादन बेचबिखन गर्न भने पाइँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.