|

काठमाडौँ : फरार रहेका हत्या आरोपी पूर्व प्रदेशसभा सांसद सवारी दुर्घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका छन्। सशस्त्र प्रहरीका असई थमन विकका हत्या आरोपी पूर्व प्रदेश सांसद कौशलकुमार यादव ८ वर्षपछि पक्राउ परेका हुन्।

गतराति महोत्तरीस्थित हुलाकी सडकखण्डमा डिएल ३ सीएवाई ८६१५ नम्बरको स्कर्पियोलाई प्रदेश २–०२–००१ च ००४५ नम्बरको महेन्द्र पिकअप गाडीले ठक्कर दिएर भागेको थियो। 

सूचना पाएपछि प्रहरी घटनास्थल पुग्दा ३ जनालाई घाइते अवस्थामा भेटिएका थिए भने उनीहरुको बयानका आधारमा पिकअप गाडीचालकलाई नियन्त्रणमा लिएको थियो। 

सोधपुछका क्रममा उनी असई विक हत्याका अभियुक्त यादव भएको खुलासा भएको हो। 

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरी बलका असई विकको हत्या भएको प्रकरणमा महोत्तरी जिल्ला अदालतले गत मंसिरमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। 

मुद्दाको मिसिल उच्च अदालत जनकपुरमा पुगेकाले उक्त मिसिल झिकाएर प्रक्रियामा जाने अदालतका सूचना अधिकारी केदारनाथ झाले थाहाखबरलाई जानकारी दिए। 

अदालतमा मुद्दा चलिरहँदादेखि नै फरार रहेका यादव लोसपा नेतासमेत हुन्। यादव विसं २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.