|

काठमाडौं : प्रतिनिधिसभा सदस्य शान्ति बिकले बलात्कार घटनाका अपराधीलाई कठोर कानूनी कारबाही गर्न सरकारसँग माग गरेकी छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रतिनिधिसभा सदस्य बि.क.ले खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं. १२ को एक विद्यालयमा शिक्षकले नाबालिकालाई बलात्कार गरेको भन्दै कडा कारबाही गर्न माग गरेकी हुन्।

उनले विद्यालय जस्तो पवित्र स्थलमा समेत बालिकाहरु सुरक्षित हुन नसकेका भन्दै कडा कानुनी व्यवस्था गर्नुपर्ने बताइन्। उनले पीडितलाई न्याय दिलाउन र समाजमा यस्तो घट्ना नदोहोरिनका लागि सरकारले कडा कदम चाल्नुपर्ने बताइन्।

उनले भनिन् ‘खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीस्थित ज्योति मा.वि. पढ्ने १३ वर्षीय बालिका आफू सुरक्षित भएको महशुस गर्न पाइन् त? आफ्नै शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरे जस्तोको गिद्धे नजर स्कुलजस्तो पवित्र थलोमा, शिक्षा क्षेत्रमा बालिकाहरु असुरक्षित छन् भन्ने कुराको आधार प्रमाणित हो। यस्तो घटना घटाउने अपराधीलाई कठोर कानुनी कारबाहीको लागि सरकारसँग माग गर्छु। यस्तो जघन्य अपराध गर्ने शिक्षकलाई आजिवन जेल सजाय वा जरिवाना, आजिवन शिक्षण पेशाबाट प्रतिवन्ध लगाउनुपर्छ। पीडितलाई न्याय दिलाउन र समाजमा यस्तो घटना नदोहोरिनका लागि सरकारले कडा कदम चालोस्।’

प्रतिनिधिसभा सदस्य विनिता कठायतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलले हुलदंगा गरेर अशान्ति मच्चाएका भन्दै कानूनी दायरामा ल्याउन माग गरिन्। प्रतिष्ठान घेराउ गर्ने तथा अमर्यादित काम गर्ने गरिएको भन्दै काँग्रेस नेताहरुकै संलग्नतामा अस्पतालको भविष्य धरापमा पारिएको बताइन्।

उनले भनिन् ‘युवा र विद्यार्थी देखाएर स्वयं कांग्रेस पार्टीका जुम्ला जिल्ला सचिवको नेतृत्वमा गएको टोलीले प्रतिष्ठानको शान्त वातावरण धमिल्याउन खोज्नु र अशान्ति मच्चाउनु कानुनविपरीत कदम हो। यसलाई तत्काल कानूनी दायरामा ल्याउन र सेवामा खटिएका स्वास्थ्यकर्मी, कर्मचारीहरुको सुरक्षा प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले स्वास्थ्यकर्मी र कर्मचारीहरुको सुरक्षा प्रत्याभूति गर्न पनि सरकारको ध्यानाकर्षण गराइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.