एसइई उत्तीर्णले दुई महिना पर्खिनुपर्ने !

|

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एसइईमा दुईभन्दा बढी विषयमा एनजी अर्थात् नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेसँगै कक्षा ११ को पढाइ भने प्रभावित हुने देखिएको छ।

शिक्षा मन्त्रालयले गत शुक्रवार मन्त्रीस्तरीय निर्णय गर्दै लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्डलगायत सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको थियो।

तर यो निर्णयले २०८० को एसइई उत्तीर्ण विद्यार्थीहरू भने समयमा कक्षा ११ पढ्न नपाउने भएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का अनुसार अहिलेदेखि नै भर्ना प्रकृया शुरू भएर साउन तेस्रो साताबाट कक्षा ११ को पठनपाठन थाल्नुपर्ने हुन्छ।

त्यसैले एसइई नतिजा सार्वजनिक भएसँगै विद्यालय/क्याम्पसहरूले कक्षा ११ को भर्ना प्रकृया शुरू गरिसकेका छन्। विभिन्न माध्यमहरूबाट प्रचारप्रसार पनि गरिसकेका छन्।

यता, मौका परीक्षा भने परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेकाे छ। यसअघि बोर्डले २ विषयमा नन ग्रेड (एनजी) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो।

परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समय लाग्ने भएकाले पनि एसइई उत्तीर्णहरू समयमा पढ्न पाउने छैनन् कि त मौका परीक्षा दिने विद्यार्थीहरू यो वर्ष कक्षा ११ पढाइबाट वञ्चित हुने देखिन्छन्।

शिक्षामन्त्री निर्णयको विरोध

राष्ट्रिय परीक्षा बोर्डले असार १३ गते २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको थियो। तर सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गर्दा परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये करिब ४८ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भए। ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना फेल (एनजी) भएका छन्।

यही नतिजाका कारण सरकार र शिक्षा मन्त्रालयको संसददेखि सामाजिक सञ्जालसम्म चर्को आलोचना भएको थियो। त्यसपछि शिक्षामन्त्री श्रेष्ठले उक्त निर्णय गरिन् तर कतिपयले शिक्षामन्त्री श्रेष्ठको यो निर्णयको विरोध र आलोचना गरेका छन्।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले शिक्षामन्त्रीले गलत निर्णय गरेको बताएका छन्। उनले भनेका छन्, ‘एकदमै गलत निर्णय, नीति एक बनाउने फेरि मन्त्रीस्तरीय निर्णय भनेर जे मन लाग्यो त्यही गर्ने कस्तो हो दु:खद कुरा आयो।’

प्याब्सनका अध्यक्ष डिके ढुंगाना पनि शिक्षा सुधारमा लाग्नुपर्ने वेला लहरमा यो निर्णय गरिएको बताउँछन्। नतिजा प्रकाशनमा समय लाग्ने भएकाले कक्षा ११ पढाइमा असर पुग्ने पनि उनले बताए।

उनले भने, ‘राज्यले शिक्षण पद्धतिको सुधार, उचित मूल्यांकन नगर्दा, कक्षा कोठा सुधार नगर्दा, परीक्षा प्रणाली सुधार नगर्दा यति धेरै विद्यार्थीहरू फेल भए। अहिले लहडमा यो निर्णय भयो, यो निर्णयले भर्ना र पढाइमा असर पुग्छ।’ 

लेटरग्रेडिङ निर्देशिका २०७८ अनुसार २ विषयसम्म ननग्रेडिङमा पर्ने विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन मौका पाउँछन्। यहीअनुसार यसअघिसम्म २ विषयसम्मलाई मात्रै ग्रेडवृद्धि परीक्षामा सहभागी गराइएको थियो तर अब यो निर्देशिका संशोधन गर्नुपर्ने हुन्छ।

‘एसइई हटाउनुपर्छ, मौका परीक्षा दिनु बेठीक होइन’

शिक्षाविद् प्राडा विद्यानाथ कोइराला २ भन्दा बढी विषयमा एनजी अर्थात् नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय ठिकै रहेको बताउँछन्।

उनले भने, ‘कक्षा १० को परीक्षा लिने ३२ थरी तरिका छन्, कक्षा ११ को परीक्षा लिने २७ थरी तरिका छन्। त्यसैले विद्यार्थीहरूलाई मौका परीक्षा दिन दिनुपर्छ, यो निर्णय भने गलत होइन तर यस्तो शिक्षा प्रणालीले शिक्षामा सुधार हुँदैन। क्रेडिट आवरमा स्कुल गइसकेको छ, विद्यार्थीहरूले कुन विषय फेल गरे भन्ने छैन, यो कार्यान्वयनमा ल्याउनुपर्छ।’

उनी यो एसइई परीक्षा खारेज नै गर्नुपर्ने तर्क पनि गर्दै आएका छन्। अब विद्यार्थीलाई गरिखाने सीप सिकाउनुपर्ने उनको भनाइ छ। उनका अनुसार कक्षा १० मा फेल गराएर अड्काउनु हुँदैन।

कक्षा ११ मा विद्यार्थीहरूलाई जान दिनुपर्छ। ‘तर कक्षा १० को क्रेडिट आवर पूरा गर्न लगाउनुपर्छ, २ वर्षभित्र त्यति पूरा गरे भर्ना गर्न पाउँछन् र पूरा गरेर १२ मा जान्छन्,’ उनले भने।

शिक्षा मन्त्रालय भन्छ- कक्षा ११ को पढाइमा असर पुग्दैन

शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दहालले यो मौका परीक्षाले कक्षा-११ को पढाइमा असर नपुग्ने बताए।

उनले भने, ‘दशैँअगाडि नै नतिजा आउँछ, त्यसैले मौका परीक्षा दिनेहरू पढ्नबाट वञ्चित र अहिले पास भएकाहरूको कक्षा ११ को पढाइ रोकिँदैन। कलेजहरूले अहिले भर्ना लिन पाउँछन्, सक्छन् तर पढाइको थालनी हुँदैन, यसबारे छलफल गरेर समन्वय गरेर जान्छौँ।’ 

यसअनुसार अहिले पास भएका एसइई विद्यार्थीहरूले कक्षा-११ मा पढ्न करिब २ महिना पर्खिनुपर्नेछ।

प्याब्सनका अध्यक्ष ढुंगानाले पढाउने समय सारेर भए पनि कलेजहरूले मौका परीक्षा दिने विद्यार्थीहरूलाई पढ्नबाट वञ्चित नगराउनुपर्ने बताए। यसका लागि आफूहरू तयार रहेको बताए।

‘मौका परीक्षा दिनेहरूलाई पनि पढ्ने वातावरण मिलाउनुपर्छ, त्यसैले पनि यसपटक कलेजहरूले बरू पढाउने समय एक साता सारेर भए पनि पढ्न पाउने वातावरण मिलाउनुपर्छ,’ उनले भने।  

शिक्षा तथा तथा मानव स्रोत विकास केन्द्रले ग्रेड वृद्धि परीक्षामा सहभागी हुने सबै विद्यार्थीका लागि सबै विद्यालयले नियमित पठनपाठनसँगै परीक्षा लक्षित सहयोग, सहजीकरण र अतिरिक्त कक्षा सञ्चालन अनिवार्य रूपमा सञ्चालन गर्नू भनेको छ।

यसका लागि केन्द्रले यस कार्यमा समन्वय एवं सहजीकरण गर्न नेपाल शिक्षक महासंघ, प्याब्सन, एन प्याब्सन, शिक्षकका पेशागत र विषयगत संघ संस्था, शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्था, नागरिक समाज, अभिभावकलगायत सरोकारवालाहरूलाई अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.