|

दाङ : मनसुन सक्रिय भएपछि परेको पानी र बाढी पहिरोले देशका विभिन्न भूभागमा धनजनको क्षति भइरहेको छ तर दाङमा भने अहिलेसम्म राम्ररी पानी नपर्दा किसानहरू धान रोप्न नपाइने हो कि भनेर चिन्तित रहेका छन्।

खेती गर्ने समयमा पर्याप्त पानी र रासायनिक मल नपाएको शान्तिनगर-५ का मनिराम चौधरीले बताए। उनले अहिले खेतिपातीको समय भएको तर अहिलेसम्म राम्रोसँग पानी नपर्दा रोप्न नसकिएको बताए। 

उनले भने, ‘हामीले पानीमात्र नभइ रासायनिक मल पनि सजिलै र पर्याप्त पाएका छैनौँ। सरकारले मल सहज रुपमा पाइन्छ भन्दै आएको छ तर हामी किसानहरूले सहज रुपमा कहिँले पनि पाउन सक्दैनौँ।’

उनका अनुसार सिँचाइका लागि पानी बौलाहा खोलाबाट ल्याइन्छ तर अहिलेसम्म राम्रोसँग पानी नपर्दा खोला नै सुक्खा रहेको छ। 

उनले गाउँलेहरू सबै मिलेर कुलो मर्मत गरेर राखेको भन्दै कच्ची कुलो हुँदा पनि आफूहरूलाई समस्या हुने गरेको बताए  जम्पर हुँदै आउने कुलो कच्ची रहेको र यसले सयौँ बिघा जमिनमा सिँचाइ हुने गरेको बताए।

उनका अनुसार गाउँका सबै किसानले १/२ बोरा मल पाएका छन् तर प्रशस्त मल पाइएको छैन। 

‘धान रोप्न ब्याड तयार भइसकेको छ तर खोलामा पानी छैन । गत वर्ष यो समयमा रोप्न शुरु हुन्थ्यो तर यस पटक अहिलेसम्म राम्रोसँग पानी परेको छैन‚’ उनले भने, ‘देशका विभिन्न ठाउँमा पानीले धेरै क्षति गरेको खबर आउँछ। आकाशमा बादल देख्दा अब पानी पर्छ जस्तो लाग्छ तर पर्दैन।’

अर्का किसान शान्तिनगर गाउँपालिका-७ का लालबहादुर वलीले १६ कठ्ठा खेतमा जसोतसो पानीको जोहो गरेर धान रोपाइँ गरेको बताए तर उनले रासायनिक मल नपाएर त्यतिकै खेती गरेको बताए।

उनले भने, ‘मल खोज्दा पाएनौँ, एक दिन पानी परेको थियो। त्यही पानीले दुई ठाउँमा गरी १६ कठ्ठा मल नहालेर धान रोपियो ।’ 

उनका अनुसार खानेपानीले धानको ब्याड राखेको हुँदा रोप्ने वेला भएको थियो। अहिलेसम्म राम्रोसँग पानी नपर्दा रोपेको धान पानी नपाएर सुक्ने चिन्ता रहेको उनको भनाइ छ। 

शान्तिनगर-५ का भक्तबहादुर वलीले पनि धान रोप्ने वेला भएको भन्दै पानी नहुँदा समस्या भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.