|

ललितपुर : नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा ‘क्रान्तिदेखि शान्तिसम्म’ तस्वीर प्रदर्शनीका साथै विमर्शसभा गर्ने भएको छ। 

कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले भोलि मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा स्व कोइरालासँग जोडिएका तस्वीर, वृत्तचित्र प्रदर्शनीका साथै विमर्श सभा गर्ने जानकारी गराएको हो। 

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रदर्शनीमा विभिन्न समयमा कैद गरिएका १५१ भन्दा बढी तस्वीर राखिने पत्रकारलाई जानकारी दिए। 

“केन्द्रीय कार्यालयको सभाहलमा हुने प्रदर्शनीमा विसं २००७ पहिलेका, कोइराला र उनका सहकर्मी नेतासँग सम्बन्धित तस्वीर रहनेछन्, ती तस्वीरले क्रान्ति, शान्ति तथा विकास निर्माण र द्वन्द्वपछिको शान्ति प्रक्रियाको चरण गरी तीन अवस्थाबारे प्रतिबिम्वित गर्नेछन्”, उनले भने।

शान्ति तथा विकास निर्माणको चरणमा विकास पूर्वाधार निर्माणका सन्दर्भ, नेपालको अर्थतन्त्र र कांग्रेसले चाहेको विकास ‘मोडल’का बारेमा तस्वीरले प्रष्ट पार्ने विश्वकर्माले बताए।

पार्टी सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्ने प्रदर्शनीको प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीलगायत विशिष्ठ व्यक्तित्वले अवलोकन गर्ने जानकारी दिँदै उनले त्यसअवसरमा क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग र फोटो पत्रकारिता, जोखिम र अनुभव विषयमा विमर्शसभा हुने बताए।

‘क्रान्तिदेखि शान्तिसम्म’ विमर्शसभामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वगृहमन्त्री तथा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता प्रदीप ज्ञवाली वक्ता रहने र उक्त सत्रको सहजीकरण डा गेजा शर्मा वाग्लेले गर्ने जनाइएको छ। 

प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार ‘समुन्नतिको दोस्रो जग’ विषयक विमर्शमा डा अच्युत वाग्ले, डा हरि शर्मा र डा मञ्चला झाले विमर्श गर्ने र डाक्टर विश्व पौडेलले सहजीकरण  गर्ने छन्। 

यस्तै ‘फोटो पत्रकारिताः जोखिम र अनुभव’ विषयक विमर्शमा गोपाल चित्रकार, विकास रौनियार, चन्द्रशेखर कार्की र प्रकाश माथेमाले विमर्श गर्ने छन् भने पत्रकार सुधीर शर्मा र जगत नेपालले सहजीकरण गर्ने छन् । 

प्रदर्शनी र विमर्शसभाका साथै कार्यक्रममा स्व कोइरालासँग जोडिएका सन्दर्भमा वृत्तचित्रसमेत प्रदर्शनी गरिनेछ। विसं २०६३ माघ १ गतेदेखि २०६५ साउन ८ गतेसम्म राष्ट्रप्रमुखको जिम्मेवारी निर्वाह गरेका स्व कोइराला २०४८ सालदेखि २०६५ सालसम्म चारपटक प्रधानमन्त्री भएका थिए। 

विसं २००४ मा विराटनगर भएको मजदुर आन्दोलनमार्फत राजनीतिमा जोडिएका कोइराला विसं २०५३ वैशाख २९ गतेदेखि २०६६ चैत ७ गतेसम्म कांग्रेसको पाँचौँ सभापतिको जिम्मेवारीमा रहे। 

विसं १९८१ असार १८ गते जन्मिएका उनको २०६६ साल चैत ७ गते निधन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.