|

जनकपुरधाम : जनककालीन ऐतिहासिक मठेश्वरनाथ मन्दिरको उत्खनन्‌मा आठौँ-नवौँ शताब्दीका लिच्छवीकालिन अवशेषहरु फेला परेका छन्।

पुरातत्व विभागका पुरातत्वविद प्रकाश दर्नालसहित ३ सदस्यीय टोलीले असार ७ गते शुरु गरेको सो प्राचीन मन्दिरको अवशेष उत्खननमा आठौँ-नवौँ शताब्दीका लिच्छवीकालीन अवशेषहरु फेला परेका हु्न्। 

सबैला नगरपालिकाको वडा नं. ६ गोविन्दपुरस्थित जनककालीन ऐतिहासिक मठेश्वरनाथ मन्दिरमा अहिलेसम्म दुईवटा पत्थर जोड्ने आइरन डावर, फलामको गोलो रिङ, मन्दिरको माथिल्ल सतहमा भारतीय र नेपाली सिक्काका साथै पत्थरमा लिच्छवी शैलीको ‘माना’ अर्थ आउने अक्षर भेटिएको छ। 

पुरातत्वविद प्रकाश दर्नालका अनुसार सोही अक्षरको आधारमा मन्दिरको प्राचीनता पत्ता लगाउन सकिन्छ। लिपी विशेषज्ञलाई देखाएर वास्तविकता पत्ता लगाउने उनले बताए। 

पुरातत्वविद दर्नालले भग्नावशेष हेर्दा प्राचीन मन्दिरको स्वरुप देखिएको बताए। उनले उत्खनन्‌का क्रममा एउटा महत्वपूर्ण ढुङ्गा भेटिएको जानकारी दिए।

स्थानीयका अनुसार पुरातत्व विभागले उत्खनन्‌ गरिरहेको स्थानमा मठेश्वरनाथ मन्दिर थियो। यस मन्दिरबारे धार्मिक ग्रन्थ रामायणमा समेत उल्लेख गरिएको पाइन्छ। सो मन्दिर मिथिलाका राजा जनकले निर्माण गरेको जनविश्वास छ। 

राजा जनकले मिथिलाको राजधानी जनकपुरधामको समदूरीमा ४ वटा मठ निर्माण गरेका थिए। 

महोत्तरीको जलेश्वरमा जलेश्वरनाथ, धनुषाको क्षीरेश्वरमा क्षीरेश्वरनाथ, धनुषाकै गोविन्दपुरमा मठेश्वरनाथ र भारत विहार राज्यको कल्याणेश्वरमा कल्याणेश्वरनाथ मन्दिरको निर्माण गरेका थिए। 

त्यसमध्ये जलेश्वरनाथ, क्षीरेश्वरनाथ र कल्याणेश्वरनाथ मन्दिरमा आज पनि पूजापाठ हुन्छ भने मठेश्वरनाथ मन्दिरको केही भग्नावशेष मात्र बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.