|
फाइल तस्वीर

ओखलढुङ्गा : ओखलढुङ्गामा पहिरोले ५ परिवार विस्थापित भएका छन् भने २३ परिवार जोखिममा परेका छन्। 

अविरल वर्षाका कारण आज विहान गएको पहिरोले मोलुङ गाउँपालिका–७ जेसे गौरीडाँडाका ५ परिवार विस्थापित भएका र २३ परिवार जोखिममा परेका हुन्।

पहिरोका कारण स्थानीय टेकबहादुर पहरी, पेशलबहादुर पहरी, मानबहादुर पहरी, अम्बरबहादुर पहरी र तेजबहादुर सुनुवारको घरमा क्षति भई उच्च जोखिममा रहेकाले पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताए। 

सोही स्थानका अन्य २३ घर पनि जोखिममा छन्। जोखिमयुक्त घरपरिवारलाई सरसामान, पशुचौपायासहित सुरक्षित ठाउँमा सार्ने प्रयास भइरहेको उनले बताए। पहिरोका कारण सोही वडाको रतनेमा पनि घर जोखिममा परेका छन्। 

पहिरोले स्थानीय पेम्बा तामाङको गोठमा बाँधेका २ भैँसी, २ राँगा र स्थानीय मिनबहादुर तामाङको गोठ पुरिँदा एउटा राँगो पुरिएकोमा उद्धार गरी सुरक्षित ठाउँमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए। 

उनका अनुसार रतनेका भक्तबहादुर तामाङ, सिंहबहादुर तामाङ, महिरानी तामाङ, पेम्बा तामाङ र मिनबहादुर तामाङको घर पहिरोको जोखिममा रहेकाले पीडित परिवार, पशुचौपाय र सरसामान सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ। 

पहिरोले स्थानीय भुलभुले खोलाबाट पेल्टीसेटको उपयोगबाट भइरहेको विद्युत उत्पादन पनि ठप्प भएको छ। क्षतिको विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.