|

जनकपुरधाम : महिनौँदेखि लथालिङ्ग अवस्थामा रहेको प्रदेश लोक सेवा आयोगलाई व्यवस्थित बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह सक्रिय भएका छन्।

प्रदेश लोक सेवा आयोगको काम कर्तव्यलाई लिएर नागरिकको गुनासो बढेपछि मुख्यमन्त्री सिंह सक्रिय भएका हुन्। प्रदेश लोक सेवा आयोगलाई व्यवस्थित गर्न सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा मुख्यमन्त्री सिंहको अध्यक्षतामा सिफारिस समितिको बैठक सम्पन्न भएको छ।  

बैठकबाट आयोगको रिक्त पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाएको मुख्यमन्त्री सचिवालयले जनाएको छ। विगत लामोसमयदेखि आयोगको अध्यक्ष र एक सदस्य रिक्त रहेको छ। पदाधिकारी रिक्त रहँदा आयोगको परीक्षा नतीजा तथा नयाँ कर्मचारी भर्ना प्रक्रिया ठप्प भएको छ।

प्रदेशमा अध्यक्ष एक र दुई सदस्य गरी तीन जनाको प्रदेश लोकसेवा आयोग रहने प्रदेश लोकसेवा आयोग ऐन २०७६ दफा ३ को उपदफा १ मा व्यवस्था गरेको छ।

अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्ष तोकेको छ। सोहीअनुसार अध्यक्ष र सदस्यलाई नियुक्ति गरिएको थियो तर उमेर हद नाघेको कारण अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० फागुन २२ गते अवकाश भएको आयोगका कार्यालयले जनाएको छ।

आयोगका अर्का सदस्य महारुद्र झा पनि उमेर हद नाघिसकेका कारण २०७९ पुस ३ गते अवकाश भएका थिए। आयोगका पदाधिकारीमा डा. सुजाता देव मात्र एक सदस्य छिन्। पदाधिकारीको उमेर हद म्याद ६५ वर्ष तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.