|

ललितपुर : ललितपुर महानगरपालिकाको नगरसभाले आगामी आवका लागि प्रस्तावित वार्षिक बजेट आज पारित गरेको छ। महानगरले ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँको बजेट ल्याएको छ।

ही असार १० गतेको नगरसभा बैठकमा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पेश गरेको आव ०८१/८२ को वार्षिक बजेट र आर्थिक विधयेक आजको नगरसभा बैठकले सर्वसम्मतिले पारित भएको प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष राजु महर्जनले जानकारी दिए। 

“वार्षिक बजेटमा स्रोतको व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट १ अर्ब ३२ करोड ८० लाख रुपैयाँ र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ, आन्तरिक स्रोतबाट ३ अर्ब ५५ करोड ९६ लाख रुपैयाँ सङ्कलन हुने अनुमान गरिएको छ”, प्रवक्ता महर्जनले भने।

प्रवक्ता महर्जनका अनुसार चालू खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ।

यस वर्षको वार्षिक बजेटमा वातावरणीय योजनालाई पहिलो प्राथमिकतामा राखिएको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी गराए। 

“चरणबद्ध रुपमा हामीले औपचारिक, अनौपचारिक ढङ्गबाट छलफल गर्‍यौँ, नगरसभामा घनीभूत छलफलपछि नगरसभाका सदस्यहरुले राख्नुभएको केही संशोधनसहित बजेट पारित भयो,’ प्रमुख महर्जनले भने‚ ‘वातावरणीय योजनालाई पहिलो प्राथमिकतामा राखिएको छ। शिक्षा र स्वास्थ्य, सम्पदा संरक्षण, पूर्वाधार निर्माणलाई विशेष ध्यान दिएका छौँ, ज्येष्ठ नागरिक र बालबालिकासमेतलाई प्राथमिकतामा राखेका छौँ।”

वातावरण संरक्षण, हरियाली प्रवर्द्धनका साथै पोखरीहरुको संरक्षण गर्दै शहरी सौन्दर्य कायम राख्नलाई महानगरले विगतका वर्षदेखि नै प्राथमिकतामा राख्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.