|

बाँके : “अरूलाईभन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन”, खुट्टाले लेखेर एसईई उत्तीर्ण भएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले भने, “सोचेजति त भएन तर पनि यो उपलब्धिमा खुशी छु।”

मदुईस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयबाट खुट्टाले लेखेर एसईई परीक्षा दिएका खत्रीले २ दशमलव ९२ जीपीए ल्याएर एसईई उत्तीर्ण भएका छन्। 

एसईई दिएकै विद्यालयबाट बाली विज्ञानमा उच्च शिक्षा हासिल गर्ने उनको योजना छ। उनले भने, “मैले कक्षा ९ देखि बाली विज्ञान लिएर पढेको हुनाले उच्च शिक्षा पनि बाली विज्ञानमा नै गर्ने सोचमा छु।”

अध्ययन सकेपछि भविष्यमा लोकसेवा दिएर अधिकृत बन्ने चाहना उनले राखेका छन्। 

शारीरिक रुपले अशक्त १८ वर्षीय उमेश खुट्टाले लेखेर एसईई परीक्षामा उत्तीर्ण हुने यस क्षेत्रकै पहिलो विद्यार्थी हुन्। उमेश जन्मजात दुवै हात र खुट्टा नचल्ने भएर जन्मिएका थिए। 

पटक पटक उपचार गर्दा पनि हातको नसामा कुनै सुधार नआएपछि उनको खुट्टाको भने ३ पटक शल्यक्रिया गरिएको थियो। त्यसपछि अलिअलि खुट्टा चल्न थालेको आमा गोमा खत्रीले बताइन्।

खुट्टा चल्न थालेपछि उमेशले खुट्टाकै भरमा आफूले सक्ने काम गर्न थालेको आमा गोमा बताउँछिन्। खुट्टा चल्न शुरु गरेपछि उनलाई हिँड्न कसैको सहारा चाहिएन तर धेरै बेर भने उभिन सक्दैनन्। 

खुट्टाले काम गर्न सक्ने भएपछि गोमाले छोरालाई विद्यालय भर्ना गरिदिएकी थिइन्। 

“शुरुमा गाउँकै जय दुर्गा आधारभूत विद्यालयमा पढायौँ। त्यसपछि गाउँमै सञ्चालित वागेश्वरी वेस्टर्न इङ्लिस बोर्डिङमा कक्षा ७ सम्म पढाएर लक्ष्मी माविमा भर्ना गरेका हौँ”, उनले भनिन्, “छोरा पहिलादेखि पढाइमा अब्बल भएकाले  एसईईमा पास हुन्छ भन्नेमा ढुक्क थिएँ।”

छोराले एसईई पास गरेपछि चौतर्फी बधाईको ओइरो आफूलाई आउँदा गर्व लागेको गोमाको भनाइ छ। 

खुट्टाको नसामा सुधार आएपछि छोराले अरू काम गर्न नसके पनि किताब कापी मिलाउने, कलम समात्ने, मोबाइल र ल्यापटप चलाउन सक्ने भएको गोमाले बताइन्।

उमेशलाई परीक्षामा सहज वातावरण बनाउन विद्यालयले उचित व्यवस्थापन गरेर सहयोग गरेको लक्ष्मी माविका प्रधानाध्यापक लक्ष्मणप्रसाद आचार्यले बताए। 

उनका अनुसार परीक्षाका वेला कक्षाकोठाको बेन्चमा बसेर लेख्न उमेशलाई अप्ठ्यारो भएपछि विद्यालयले छुट्टै टेबल र कुर्सीको व्यवस्था गरेको थियो। प्रधानाध्यापक आचार्यले उमेश मेहनतीमात्र नभई अनुशासित विद्यार्थी भएको बताए।

“उहाँको शारीरिक अपागंता देखेर स्कुलले धेरै सहयोग र व्यवस्थापन गरेको छ”,  उनले भने, “हुन त पढ्ने मान्छेलाई कुनै कुराले रोक्न सक्दैन। यो सफलता उमेशको लगनशीलताको नतिजा हो।”

घरबाट १५ मिनेटको दूरीमा रहेको विद्यालयमा उमेशलाई कहिले मामाको छोरा र कहिले आमाले विद्यालयसम्म पुर्‍याउनु  पर्थ्यो। उमेश आफ्नो सफलताको श्रेय आमाबुबा र गुरुहरुलाई दिन्छन्। 

५ वर्षको उमेरबाट उमेशले आफूले सक्ने काम खुट्टाकै सहारामा गर्न थालेका थिए। हात र खुट्टा दुवै नचल्दाभन्दा खुट्टाले काम गरेपछि धेरै सजिलो भएको उमेशको भनाइ छ।

सशस्त्र प्रहरीमा जागिरे बुवा अहिले नवलपरासीमा कार्यरत छन्। दुई छोरामध्ये उमेश जेठा हुन्। 

यस वर्षको एसईईमा धेरै विद्यार्थीले नतिजा राम्रो ल्याउन नसकेको वेला आफ्नै वडाबाट उमेशले राम्रो अङ्क ल्याएर उत्तीर्ण गरेकामा वडावासी खुशी भएको वडाध्यक्ष ज्ञानेन्द्र वलीले बताए। 

उमेशलाई उच्च शिक्षाका लागि सहयोग गर्ने प्रतिबद्धता वडाध्यक्ष वलीले व्यक्त गरे। उक्त विद्यालयबाट १०७ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए जसमध्ये १२ जनामात्र उत्तीर्ण भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.