|

चितवन : बिमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने सञ्चालकसहित पाँचजना पक्राउ परेका छन्। 

यही असार १ गते साँझ कालिका नगरपालिका-६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँचजना मंगलबार पक्राउ परेका छन् । 

विनोद सुनचाँदी पसलका सञ्चालक कालिका नगरपालिका-६ का ३५ वर्षीय विनोद सुनार र व्यवस्थापक २५ वर्षीय विजय विश्वकर्मा पक्राउ परेका हुन्। यस्तै चोरी गर्ने म्याग्दी गाउँपालिका-७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा र बारागढी नगरपालिका-४ का १८ वर्षीय पवनकुमार पासवान र सामान लुकाउन सहयोग गर्ने कालिका-६ का ४२ वर्षीया अञ्जना पुडासैनी केसी पक्राउ परेका हुन्।

लुटपाटको मुख्य योजनाकार पसल सञ्चालक, चोरी गर्न सहयोग गर्ने र सामान लुकाउन सहयोग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालले बताए।

पसल सञ्चालक विनोद  स्वयंले लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी तथा विभिन्न व्यक्तिबाट लिएको ऋण रकम चोरी भएको देखाइ जालसाजी गरी फाइदा लिने मनसाय राखेको अनुसन्धानबाट खुलेको  छ। बिमा दाबी गर्नका लागि पसल सुनारले घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको रिमालले जानकारी दिए।

सुनारले धारिलो हतियार खुकुरी र चक्कु घाँटीमा राखी पसलबाट दुई करोड १७ लाख ५४ हजार ४१५ बराबरको सुनचाँदीका गहना चोरी भएको दाबी गरेका थिए । चोरी भएको सुनको गुणस्तर परीक्षण हुन बाँकी छ। पक्राउ परेकामाथि अनुसन्धान गर्न प्रहरीले चितवन जिल्ला अदालतबाट ६ दिनको म्याद पाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.