|

काठमाडौं : ‘ममाथि मानमर्दन र अन्याय भएको छ, मेरा प्रिय मित्र कांग्रेस सभापति शेरबहादुरजी यही हुनुहुन्छ, म साथीहरुलाई भन्छु, म माथि अन्याय भएको छ, म पार्टीको पूर्व उपसभापति हुँ, मलाई पूर्व महामन्त्रीभन्दा पछि राखियो?’

यो दुखेसो हो, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठको। उनले नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको उद्घाटनका बेला पार्टी सभापति देउवासँग दुखेसो पोखेका थिए। उनको यो दुखेसो नेविसंघको महाधिवेशनलाई लिएर थिएन, पार्टीको केन्द्रीय समितिमा वरियताक्रममा आफूलाई पछाडि राखिएको विषयमा हो। 

श्रेष्ठले मात्र होइन १३ औं महाधिवेशनपछि वरियताक्रम नमिलेको भन्दै पाँच जना केन्द्रीय सदस्यले निर्णयमा नै हस्ताक्षर गरेका छैनन्। कुलबहादुर गुरुङ, डा. रामशरण महत, अर्जुननरसिंह केसी र रमेश लेखकले पनि वरियताक्रममा आफूलाई पछि पारेको भन्दै माइन्युटमा हस्ताक्षर गरेका छैनन्। 

२०७२ फागुन २० देखि २५ गतेसम्म भएको महाधिवेशनपछि कांग्रेसको औपचारिक र अनौपचारिक गरी चारवटा केन्द्रीय समितिको बैठक बसिसक्यो, सबै बैठकमा पाँचै जना सहभागी छन्। तर हस्ताक्षर गरेका छैनन्। 

गोपालमान श्रेष्ठलाई अहिले वरियताक्रममा दशौं नम्बरमा राखिएको छ। उनीभन्दा अघि प्रकाशमान सिंहलाई आठौं र कृष्ण सिटौलालाई नवौं वरियतामा राखिएको छ। सिंह र सिटौलाभन्दा आफु वरिष्ठ भएको श्रेष्ठको दावी छ। गोपालमान पूर्व उपसभापति हुन् भने सिंह र सिटौला पूर्व महामन्त्री। पूर्व महामन्त्रीभन्दा पूर्व उपसभापतिलाई पछि पार्ने भन्दै उनले हस्ताक्षर नगरेका हुन्। 

जेष्ठ केन्द्रीय सदस्य कुलबहादुर गुरुङ पार्टीको १० औं महाधिवेशनमा नै महामन्त्री भएको मान्छेलाई त्यसभन्दा पछिका महामन्त्री भन्दा पछाडि राखेकोमा दुखेसो छ। उनी अहिले पार्टीको ११ औं वरियताक्रममा छन्। उनले पार्टी सभापति देउवासँग वरिष्ठ सदस्य दिने सहमति भएपनि त्यसको पालना सभापति देउवाले नगरेको आरोप लगाए। उनले भने ‘वरिष्ठ सदस्य बनाउने सहमति भएर नै चुनावमा लडेको थिए, अहिले किन हो सभापतिले कुरा फेरेको, यस्तै अवस्था भइराखे छोड्ने स्थिति पनि आउन सक्छ।’

डा. रामशरण महत र अर्जुननरसिंह केसी दुबै जना पूर्णबहादुर खड्काभन्दा पछाडि परेकोमा असन्तुष्ट छन्। पार्टीले खड्कालाई १५ औं वरियतामा र महतलाई १६ औं र केसीलाई १७ औं वरियताक्रममा राखेको छ। 

पार्टीमा खड्काभन्दा पहिले नै महत र केसी सहमहामन्त्री भएका थिए। १० औं महाधिवेशनमा नै केसी सहमहामन्त्री भएका थिए भने त्यसअघि नै महत सहमहामन्त्री भएका थिए। खड्का १२ औं महाधिवेशनपछि मात्र सहमहामन्त्री भएका थिए। खड्काभन्दा आफूहरु पहिले नै सहमहामन्त्री भएकोले खड्काको वरियताक्रमभन्दा अघि आफूहरु हुनुपर्ने तर्क महत र केसीको छ। 

निश्चित मापदण्ड बनाएर वरियताक्रम तोकिनुपर्ने केन्द्रीय सदस्य केसीको राय छ। उनले भने ‘सभापतिज्यू जहिले पनि मिलाउछु भन्नुहुन्छ तर मिलाउनुहुन्न। पूर्व पदाधिकारीहरुकै मानमर्दन गर्ने काम भएको छ। यसलाई मिलाउनपर्‍यो भनेर हस्ताक्षर नगरेका हौं।’

केन्द्रीय सदस्य रमेश लेखक पनि भातृ संगठनका अध्यक्षहरुभन्दा आफूलाई पछि पारिएकोमा असन्तुष्ट छन्। नेविसंघका पूर्व नेताहरु गुरु घिमिरे, गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ, र महिला संघकी डिला संगौलाभन्दा आफू वरिष्ठ भएको तर्क गर्दै उनी असन्तुष्ट भएका हुन्। ७३ औं वरियतामा रहेका लेखक यसअघि नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण हुँदा कांग्रेस केन्द्रीय सदस्य रहिसकेका थिए। १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित उनी १३ औं फेरि निर्वाचित भएका हुन्।  

कांग्रेसले सिंह, सिटौला र खड्कालाई निवर्तमान भन्दै वरियतामा अघि राखेको तर्क गर्दै आएको छ। पार्टीको वरियता क्रममा पार्टी सभापति शेरबहादुर देउवा पहिलो नम्बरमा र रामचन्द्र पौडेल दोस्रो नम्बरमा उपसभापति तेस्रो नम्बरमा राखिएको छ। त्यसैगरी निर्वाचित महामन्त्री शंशाक कोइराला र मनोनित महामन्त्री क्रमशः चार र पाँच नम्बरको वरियताक्रममा रहने विधानमा उल्लेख छ।

यसैगरी छ नम्बरमा कोषाध्यक्ष सितादेवी यादव र सात नम्बरमा सहमहामन्त्री रहनेछन्। आठौं नम्बरदेखि केन्द्रीय सदस्यहरुलाई वरिष्ठताको आधारमा वरियता तोकिने गरेको छ। उपसभापति, मनोनित महामन्त्री र सहमहामन्त्री मनोनित गर्न बाँकी नै छ। 

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीभित्रको परम्पराकै आधारमा वरियताक्रम निर्धारण गरिएको बताए। 'सभापतिज्यूको आदेशले मात्र वरियताक्रम मिलाएको होइन, यसको छुट्टै परम्परा र मूल्य छ त्यही आधारमा राखिएको हो' उनले भने 'यदि मिलेको रहेनछ भने सच्याइनेछ।' वरियताक्रम  नमिलेको भए मिलाउन सभापति शेरबहादुर देउवाले छुट्टै समिति गठन गर्ने बताइसकेका मुख्य सचिव पौडेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.