|

कालीकोटः कर्णाली राजमार्गको सुर्खेत–जुम्ला खण्डको ठाउँमा ठाउँमा पहिरो गएका कारण सो राजमार्ग अवरुद्ध बनेको छ। 

कर्णाली राजमार्गको दैखोला, सुनारखोला एसमोडलगायतका ठाउँमा पहिरो गएका कारण अवरुद्ध बनेको हो।

कर्णाली राजमार्गमा पानी पर्नासाथ पहिरो जाने गरेका कारण समस्या हुने गरेको छ। 

गत साता गएको पहिरो पन्छाएर सडक सुचारु भएको हप्ता दिन नपुग्दै पुनः दैलेखको आठबीस नगरपालिकाको वडा नंबर ३ खिडकीज्युलामा पहिरो गएको छ।
बिहीबार राती पहिरोका कारणले पुनः राजमार्ग अवरुद्ध बनेको छ। अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरी चौकी दैलेख राकमका हवल्दार भेषबहादुर थापाले बताए। ‘मंगलबार बिहान नै पहिरो गएको छ’, उनले भने, ‘अहिले खुलाउने प्रयास भइरहेको छ।’

राजमार्गमा छिनछिनमा पहिरो जाने गरेका कारण कर्णाली राजमार्ग हँुदै आवागमन गर्ने दैलेख, कालीकोट, जुम्ला र मुगुका बासिन्दा कालेखोलाबाट पैदल हिँड्न बाध्य छन्।

दैलेखको किटुुदेखि कालीकोटको दैखोला, एसमोडसम्म गत साता गएको पहिरो हटाएर एकतर्फी गाडी चल्न सक्ने बनाइए पनि छिनछिनमा ठाउँठाउँमा पहिरो गएकाले कर्णालीवासीलाई सास्ती भएको निमित्त प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठले बताए। ‘कर्णाली राजमार्गमा पानी नपरे पनि पहिरो जाने गरेको छ’, उनले भने, ‘यसले गर्दा यात्रुलाई सास्ती हुने गरेको छ।’

कर्णाली राजमार्गमा कतिबेला पहिरो जान्छ, कति बेला जाँदैन, त्यो कुनै पत्तो नहुने बस चालक नारायण गिरीले बताए। उनले भने, ‘घाम लागेको दिनमा पनि पहिरो जाने गरेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.