धार्मिकस्थल र बसपार्क नजिकै पनि बनाइँदै

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले पछिल्लो समय महानगरभित्र धमाधम निःशुल्क सार्वजनिक शौचालयको व्यवस्था गर्दा शहरबासीहरूलाई ठूलो राहत मिल्दै आएको छ। कुनै समय महानगरपालिकाभित्र शौचालयको अभाव हुँदा शहरवासी कि त सपिङ मल या होटल, कि त झाडीमा शौच गर्न बाध्य थिए। भएका शौचालयहरू पनि व्यवस्थित थिएनन्। तर,अहिले ती समस्याहरू हट्दै गएका छन्। 

महानगरपालिकाका प्रमुख बालेन साहको शौचालयमा सर्वसाधारणको सहज पहुँच अभिवृद्धि गर्न महानगर क्षेत्रभित्र रहेका होटल, रेष्टुराँ, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी सङ्घसंस्थाका शौचालयलाई सार्वजनिक बनाउने नीति नै लिएका छन्। उनी निर्वाचित भएपछि यही सहकार्यको लागि सार्वजनिक सूचना नै जारी गरेर आह्वान गरेका थिए। 

त्यसै विषयअन्तर्गत अहिले निःशुल्क शौचालयको व्यवस्था हुँदै आएको छ। तत्कालीन महानगर प्रमुख विद्या सुन्दर शाक्यको कार्यकालमा पनि सार्वजनिक शौचालय निर्माण नभएको भने होइन। उनकै कार्यकालमा आधारभूत सेवासहित स्वयम्भू, त्रिपुरेश्वरलगायत ठाउँमा स्मार्ट शौचालय बने

उक्त शौचालयहरूमा शौच सकिएपछि सफाइ निम्ति पानी, ट्वाइलेट पेपर, स्प्रे,हात धुने साबुन र पानीलगायत अन्य सुविधाको पनि व्यवस्था गरिएको छ। यद्यपि, उनको प्रतिबद्धताअनुसार भने शौचालय निर्माण हुन सकेन।

महानगरपालिकाको प्रमुखमा साह निर्वाचित भएपछि उनले  २०७९ जेठ १६ गते पदभार ग्रहण गरेका थिए। त्यसपछि उनले होटल, रेष्टुराँमा निःशुल्क शौचालयको व्यवस्था गरे। अहिले उनले पेट्रोल पम्पहरूमा पनि निःशुल्क शौचालयकोे व्यवस्था गरेका छन्। 

१०० वटा निःशुल्क शौचालय उपलब्ध

काठमाडौं महानगरपालिका,शहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीले महानगरपालिकाभित्र हाल विभिन्न ठाउँहरूमा १०० वटा निःशुल्क शौचालयको व्यवस्था गरिएको जानकारी दिए। यी सबै शौचालयहरू अहिले सञ्चालित नै छन्।

‘हाल रेष्टुरेन्ट,पेट्रोल पम्प,सार्वजनिक स्थानमा गरि एक सयवटा निःशुल्क शौचालयको व्यवस्था गरेका छौँ,यसले शहरवासीहरूलाई धेरै सहज भएको छ,’उनले भने।

पेट्रोल पम्पमा ४९ वटा निःशुल्क शौचालय 

महानगरपालिकाका प्रमुख साहले पेट्रोल पम्पहरूले सबै नागरिकहरूका लागि सफा शौचालय निःशुल्क उपलब्ध गराएको जानकारी दिएका छन्। उनका अनुसार यसको सङ्केत चिन्हका रूपमा महानगरपालिकाले नीलो पृष्ठभूमिमा निःशुल्क शौचालय लेखिएको गोलो परिचय पाटी राखिएको छ।

काठमाडौं जिल्लामा करिब १२३ वटा पेट्रोल पम्प छन्। यीमध्ये काठमाडौं महानगरपालिकामा बागमती पेट्रोलियम डिलर्स एसोसियसनमा दर्ता रहेका ५० वटा पेट्रोल पम्प छन्। अहिले महानगरपालिका भित्रका ५० पेट्रोल पम्पका सबै पेट्रोल पम्पमा कम्तीमा २ देखि ६ वटा सम्म शौचालयहरू सर्वसाधारणको लागि निःशुल्क रूपमा खुल्ला गरिएको उनले जानकारी दिए।

पम्प खुलेको समयमा शौचालय बन्द रहेको पाइएमा काठमाडौं महानगरपालिकाको निःशुल्क हटलाइन नम्बर ११८० मा कल गरेर गुनासो टिपाउन र उक्त गुनासो सम्बोधन गर्नको लागि समन्वय गर्ने उनले सामाजिक सञ्जालबाटै आग्रह गरेका छन्। काठमाडौं महानगरपालिका,शहरी योजना आयोगका उपाध्यक्ष डा. राजभण्डारीका अनुसार पेट्रोल पम्पहरूमा भने ४९ वटा निःशुल्क शौचालयको व्यवस्था गरिएको छ।

सबै पेट्रोल पम्पहरूको पहिचान पहेँलो रङले सङ्केत 

महानगरपालिकाका प्रमुख शाहले महानगरपालिकाभित्रका सबै पेट्रोल पम्पहरूको पहिचान पहेँलो रङले सङ्केत राखिएको पनि जानकारी दिएका छन्। उनले भनेका छन्,‘उपभोक्तालाई शुद्ध पेट्रोलियम पदार्थ सहज र सुरक्षित उपलब्ध गराउने, यससँग जोडिएका सडक पूर्वाधार तथा सडक उपयोगको सुविधा व्यवस्थापनका लागि हामी प्रतिबद्ध छौँ, यसका लागि तत्काल, मध्यकाल र दीर्घकाल गरी चरण चरणमा काम गर्नुपर्ने अवस्था छ।’

उनका अनुसार तत्काल सुधार गर्न सकिने कामको अध्ययन गर्न महानगरपालिकाको संयोजकत्वमा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधिसहितको टोलीले दिएको प्रतिवेदनमा उल्लेख भएका सुझावका आधारमा यस्तो व्यवस्था गरिएको हो।

धार्मिकस्थल र बसपार्कमा पनि व्‍यवस्था हुँदै

काठमाडौं महानगरपालिका,शहरी योजना आयाेगका उपाध्यक्ष डा.राजभण्डारीले अझै थप निःशुल्क शौचालय निर्माण गर्न महानगर लागि परेको सुनाए। उनका अनुसार धार्मिकस्थल,बसपार्कहरूमा पनि निःशुल्क शौचालय बन्दै छ।

‘अन्य धार्मिक स्थलहरूमा पनि शौचालय निर्माणको लागि डिजाइन गरेर टेण्डर आव्हान गरिएको छ,ती ठाउँमा पनि शौचालय निर्माण भएपछि झनै शहरवासीहरूलाई फाइदा पुग्नेछ,’उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.