|

विश्वराज पछल्डङ्ग्या

नेपालगन्ज : करेन्ट लागेर नेपालगन्जमा एकजनाको मृत्यु भएको छ। परिवर्तन समूहका कार्यक्रम संयोजक नयनराज रावलको नेपालगन्ज-१३, चारवाहिनी रोडमा रहेको घरमा करेन्ट लागेर शनिबार राति साढे १० बजे मृत्यु भएको हो। 

बत्तीको भोल्टेज कम भएको समयमा इन्भरटर जोड्ने क्रममा करेन्ट लागेर बेहोस भएका रावलको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भिमकिरण बोगटीले जानकारी दिए। लागूपदार्थविरुद्वको अभियानमा सक्रिय रावल लागूऔषध प्रयोगकर्तालाई मौखिक पद्दतीमार्फत पुन:स्थापना गर्ने अभियानमा सक्रिय थिए। 

४४ वर्षीय रावल यूवालाई लागूऔषध दुर्व्यसनबाट जोगाउन सचेतनामूलक कार्यक्रम एवं एचआइभी/एड्सविरुद्वका अभियानमा समेत सक्रिय थिए। रावलको निधनले लागूऔषध र एचआइभी/एड्सविरुद्वको अभियानमा ठूलो धक्का पुगेको सहारा हाउसका अध्यक्ष अभिराज क्षेत्रीले बताए। 

रिकभरिंग नेपाल र चेन्ज टिममार्फत रावलले नेपालगन्जमा लागूऔषधमा फसेका युवालाई उपचार गर्ने र युवा पुस्तालाई लागूऔषधमा फस्न नदिन अभियान चलाउँदै आएको रिकभरिङ्ग नेपालका क्षेत्रीय सदस्य प्रविण बीसीले जानकारी दिए। अभियन्ताहरुले अभिभावक गुमाएको महसुस गरेको उनले बताए। उनी विगत एक दशकदेखि सामाजिक काममा सक्रिय थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.