|

काठमाडौं : चीनले डोक्लम समस्याबारे नेपालले तटस्थ कायमै राखोस् भन्ने चाहना राखेको छ। जानकार कूटनीतिक स्रोतका अनुसार नेपालले डोक्लम मुद्दामा यतिबेला लिएको पोजिसनलाई चीनले सकारात्मक रूपमा लिएको छ।

नेपालले डोक्लम मामिलामा तटस्थता कायमै राखोस् भन्ने आग्रह गर्नु पनि चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको एउटा एजेन्डा रहेको भ्रमणबारे जानकार एक कूटनीतिक अधिकारीले बताए। प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा डोक्लम समस्याबारे छलफल तथा भ्रमणपछि आउने संयुक्त वक्तव्यमा उल्लेख नहोस् भन्ने चिनियाँ चाहना देखिएको अधिकारीहरूले बताए।

'डोक्लम चीनको भूभाग हो। चीनले सडक बनाउँदै गर्दा भारतीय सैनिकले हस्तक्षेप गरी निर्माण कार्यमा अवरोध गरेपछि मात्र डोक्लममा तनाव देखिएको हो। नेपालले यस मामिलामा आफ्नो तटस्थ नीति कायम राखोस् र प्रधानमन्त्री देउवाको भारत भ्रमणमा यो मुद्दा नबनोस् भन्ने चीन चाहन्छ', एक चिनियाँ अधिकारीले सोमबार भने। ती चिनियाँ अधिकारीले चीनले नेपालसँग डोक्लम मुद्दामा नेपालको समर्थन नखोजेको बताए।

चीन र भुटानबीच डोक्लम क्षेत्रमा देखिएको सीमा विवादमा भारतीय सैनिक हस्तक्षेपपछि उत्पन्न तनावले चरम रूप लिएसँगै चीन र भारतबीच सीमायुद्ध हुन सक्ने आशंका व्याप्त भएका बेला चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमण भएको छ। डोक्लममा चीन र भुटान दुवैको दाबी छ। चिनियाँ सेनाले दुई महिनाअघि डोक्लम क्षेत्रमा सडक निर्माण गरिरहँदा भारतले सेना प्रयोग गरी रोकेपछि चीन र भारतबीच तनाव बढेको छ।

नेपालको परराष्ट्र मन्त्रालयले वाङको भ्रमण डोक्लम समस्यासँग नजोडिएको बताएको छ। 'चिनियाँ उपप्रधानमन्त्रीको भ्रमण पूर्वनिर्धारित हो। यो आकस्मिक होइन। डोक्लम क्षेत्रबारे चीन, भुटान र भारतबीच देखिएको विवादसँग जोडेर यो भ्रमणलाई लिन जरुरी छैन', उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भने। उनले नेपाल डोक्लम समस्या युद्धबाट नभई शान्तिपूर्ण वार्ताबाट समाधान होस् भन्ने चाहेको बताए।

'हामीले यो विवादमा कुनै पक्षको पनि समर्थन गरेका छैनौँ। यस मामिलामा हाम्रो तटस्थ रहने नीति स्पष्ट छ', उनले हालैको अन्तरक्रियामा पत्रकारसँग भनेका थिए। चीन र भारतका काठमाडौंस्थित राजदूतसँग नेपालको पोजिसन स्पष्ट पारिसकिएको उनले बताए।

उनले चीन र भारत दुवैले नेपाललाई डोक्लम मुद्दामा समर्थन गर्न दबाब नदिएको बताएका थिए। तर, यही साता नेपाल भ्रमण गरी फर्किएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री देउवासँग डोक्लम मुद्दाबारे एकल भेटमा कुराकानी गरेको र आसन्न देउवाको भ्रमणमा सो मुद्दा उठ्न सक्ने चिनियाँ पक्षको आशंका देखिएको नेपाली अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.