|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा हुन प्रहरीमा होडबाजी चल्ने गरेको छ। महाभियोग लाग्दालाग्दै अदालतको फैसलाबाट बर्खास्त भएका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अख्यिारमा प्रहरी दरबन्दी ६ गुणाले वृद्धि गराएका थिए। दरबन्दी बढेसँगै अख्तियारमा पोस्टिङ खोज्दै राजनीतिक ‘सोर्स’ र अख्तियारकै ‘कृपा’ खोज्ने प्रवृत्ति प्रहरीमा बढेको हो।

प्रहरी प्रधान कार्यालयले हालै डीएसपीबाट एसपीमा बढुवा भएकामध्ये आठजना (सुशीलसिंह राठौर, माधव श्रेष्ठ, उमाप्रसाद चतुर्वेदी, विमल बस्नेत, राजन अधिकारी, ईश्वर कार्की, अरुण पौडेल र किसनसिंह थापा)लाई अख्तियारमा पदस्थापन गर्‍यो। ३५ एसपीको पदस्थापन गर्दा २८ जनाको ‘खाली’ को कारण देखाइएको छ। अख्तियार पठाइएका आठ जनाको हकमा भने कारण खुलाइएको छैन।

अख्तियारमा सरुवा मिलाउन ‘बाहिरी स्रोत’बाट प्रहरी नेतृत्वमाथि दबाब दिलाउनु सामान्य भइसकेको मुख्यालय स्रोत बताउँछ। एक पूर्वउच्च अधिकृत भन्छन्, ‘१३ पाने सम्पत्ति विवरण भर्नुपर्ने त्रास सबैभन्दा ठूलो कारण हो।’पूर्वप्रमुख आयुक्त कार्कीले आफ्नो कार्यकालमा प्रहरी कर्मचारीको नामै तोकेर सरुवा गर्न दबाब दिने गरेको अधिकारी बताउँछन्।

प्रहरीले पहिलो रोजाइका आकर्षक ठाउँ नपाएको अवस्थामा अख्तियारलाई वैकल्पिक गन्तव्य बनाएको देखिन्छ, जहाँका ‘छुट्टै फाइदा’ पाइन्छ। तल्लो तहका लागि त्यहाँको पोस्टिङबापत प्राप्त हुने भत्ता नै ठूलो आकर्षण देखिएको छ। वरिष्ठ अधिकृतका लागि चाहिँ धेरै लाभ मिल्न सक्छ- बढुवाका लागि वातावरण निर्माण, अर्कोपटक चाहेको ठाउँमा सरुवा र तक्माका लागि सिफारिस।

- दलीय ‘सोर्स’ र अख्तियारकै ‘कृपा’ खोज्ने प्रवृत्ति बढ्यो
- उच्च तहका अधिकारीको भटाभट सरुवा तथा पदस्थापन
- आठ एसपी र १२ डीएसपीलाई अख्तियारमा खटाइयो
- असइ र हवल्दार सरुवामा भने एकजना पनि परेनन्
- अख्तियारमा परिचरदेखि डीआईजीसम्म २२७ जनाको दरबन्दी
- केन्द्रमा १ सय १९
- क्षेत्रीय कार्यालयमा १ सय ८ जना परिचालित
- लोकमानसिंह कार्कीका पालामा दरबन्दीमा ६ गुणाले वृद्धि

तत्कालीन प्रमुख आयुक्त कार्कीले ४० जनाको दरबन्दीलाई दुईपटक बढाएर २ सय २७ पुर्‍याएका थिए। केन्द्रमा सीमित संस्थालाई क्षेत्रगत विस्तारमा लगे, जसले गर्दा अख्तियार भर्तीकेन्द्र बन्न पुगेको जानकारको भनाइ छ। कार्कीले आफ्ना अंगरक्षक इन्स्पेक्टर दानबहादुर कार्कीलाई डीएसपीमा बढुवा मात्र दिलाएनन्, संयुक्त राष्ट्रसंघको विशेष मिसनमै पठाए। त्यसमा तत्कालीन प्रहरी नेतृत्व निरीह देखिएको थियो।

अहिले अख्तियारका इटहरी, धनकुटा, हेटौंडा, बर्दिबास, पोखरा, बुटवल, सुर्खेत, कोहलपुर, कञ्चनपुर र दिपायलमा क्षेत्रीय कार्यालय छन्। ती स्थानमा एसपीदेखि डीएसपीसम्म प्रमुख रहने दरबन्दी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.