|

काठमाडौं : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफू भारत भ्रमणमा निस्कँदा पार्टीको कार्यभार नेता विमलेन्द्र निधिलाई सुम्पेका छन्। पार्टी बागडोर सम्हालेको डेढ वर्षसम्म पार्टी पदाधिकारीदेखि विभाग गठन गर्न नसकेको भन्दै आलोचना खेपेका देउवाले पार्टीका अन्य गुटको नाडी छाम्न निधिलाई कार्यवाहक दिएको चर्चा चलेको छ। निधि देउवाको विश्वासपात्र मानिन्छन्। नेपाल प्रहरीको आइजिपी नियुक्ति विवादमा देउवा र निधिबीच मनमुटाव बढेको विवरण सार्वजनिक भएका थिए।

कांग्रेसलाई नजिकबाट नियालिरहेका विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘निधिलाई देउवाले कार्यवाहक दिनु महत्ववपूर्ण कदम हो। पहिला त पार्टी सभापतिले आफ्ना अनुकूलका नेतालाई सेकेन्ड म्यान बनाउने परिपाटी पुरानै हो। दोस्रो २ नम्बर प्रदेशको निर्वाचन पनि हो। देउवाले पार्टीभित्र वरिष्ठ नेता हुँदाहुँदै निधिलाई अगाडि ल्याएर पुस्तान्तरको सन्देश पनि दिन खोजेको देखिन्छ।'

देउवाले बुधबार निधिलाई कार्यवाहक सभापति बनाएको सार्वजनिक भएलगत्तै पौडेल पक्षले असन्तुष्ट जनाएको छ। औपचारिक रूपमा नेताहरूले प्रतिक्रिया नदिए पनि पौडेल समूह देउवाको यो निर्णयबाट रुष्ट छ। पौडेल समूहसहित कांग्रेसका कैयन नेता देउवा आफ्नै समूहका पाका नेता कुलबहादुर गुरुङलाई समेत सम्मान गर्न नसकेको आरोप लगाउँछन्। आफू पछिल्लो समयमा अस्वस्थ रहेकाले पार्टीका गतिविधिबारे कुनै जानकारी नभएको गुरुङले संक्षिप्त प्रतिक्रिया दिए।

निधिलाई कार्यवाहक दिएकोप्रति असन्तुष्टि जनाउनुपर्ने औचित्य देख्दैनन् कांग्रेस नेता रमेश रिजाल। देउवाले बुधबारै रिजाललाई अनुशासन समितिको संयोजक बनाएका छन्। उनी भन्छन, ‘पार्टी सभापतिले आफ्नो अनुकूलका मानिसलाई अगाडि नबढाए कसरी काम गर्न सक्छन्।' रिजालका अनुसार भारत भ्रमणबाट फर्केलगत्तै देउवा पार्टीका बाँकी विभाग पनि गठन गर्ने तयारीमा छन्। ‘यसमा के नौलौ भयो र विगतदेखि जसरी पार्टी चल्दै आएको छ', रिजालले भने।

बुधबारै देउवाले ४ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन्। देउवाको मनोनयनमा पर्नेमा हरिप्रसाद नेपाल (पाल्पा), राधेचन्द्र यादव (बारा), अमृत अर्याल (मोरङ) र ध्यानगोविन्द रञ्जित (काठमाडौं) छन्।
 
यद्यपि, विश्लेषकहरू देउवाले लामो समयदेखि कुरेर र अहिले भारत भ्रमणको मौकालाई सदुपयोग गर्न खोजेको तर्क गर्छन्। विश्लेषक आचार्य भन्छन्, ‘निधिलाई कार्यवाहक दिएर देउवाले आफ्नो उत्तराधिकारीका रूपमा अघि बढाएको सन्देश दिन खोजेका छन्।' पार्टी सभापतिमा देउवा विजयी भएपछि धेरैले निधिलाई उपसभापति बनाउने अनुमान गरेका थिए। पार्टी महाधिवेशनलगत्तै फेरिएको सत्ता समीकरणमा निधिले पार्टीको नेतृत्व गरी सरकारमा गएपछि देउवाले उनलाई उपसभापति बनाएनन्।

प्रभावकारी भूमिकामा एकै जनालाई राख्दा असन्तुष्टि चुलिने त्रासले देउवाले डेढ वर्षदेखि विभागदेखि पदाधिकारी चयन नगरेको विश्लेषकको तर्क छ। विश्लेषक आचार्य भन्छन्, ‘निधिलाई कार्यवाहक दिनुका पछाडि मधेसमा हुन गइरहेको निर्वाचन पनि हो। कांग्रेसले निर्वाचनमा आर्जन गर्ने शक्तिको मुख्य क्षेत्र तराई-मधेस नै हो। निधिलाई अगाडि सारेर देउवाले चुनावी रणनीति पनि झल्काएका छन्।'

कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गरेपछि भारतसँग बिग्रेको सम्बन्ध सुधार गर्न निधिले भूमिका खेलेको भन्दै उनलाई धेरैले ‘प्रो इन्डियन' पनि भनेका थिए। कोइरालाको राजीनामापछि एमाले अध्यक्ष केपी ओली नेतृत्वमा गठित सरकारसँग भारतको बढ्दो तिक्तता रोक्न निधिले भन्दै वाम गठबन्धन भत्काउन महत्वपूर्ण भूमिका खेलेका थिए। निधिकै सक्रियता पछि माओवादी-कांग्रेस गठबन्धन निर्माण भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.