|

काठमाडौं : 'सबैतिर शान्ति छाओस् भनेर रुख रोपिरहेका छौं', शुक्रबार पशुपतिस्थित माधवराज सुमार्गी स्मृति भवनको प्रांगणमा रुख रोप्न तयार भएकी मुन्नी आयोनले भनिन्, 'मान्छेहरु लडाँइ नगरुन्, वादविवाद नगरुन् बरु शान्तसँग बसेर ध्यान गरुन् भन्ने चेतना फैलाउन विरुवा रोप्दैछौं, विश्वव्यापी अभियान हो।'

विश्व शान्तिका लागि विभिन्न देशमा वृक्षारोपण अभियान सञ्चालन गरिरहेकी अभियन्ता एवं लेखक मुन्नी आयोनलाई बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था बाल सारथीकी अध्यक्ष एवं सामाजिक अभियन्ता अस्मिता सुमार्गी र भारतको फस्ट स्टेप नेशनल अर्गनाइजेसनकी संस्थापक एवं महासचिव डा. विनिता कपुरले पशुपति क्षेत्रमा वृक्षारोपणमा साथ दिए। 

वृक्षारोपण कार्यक्रममा व्यवसायी अजेयराज सुमार्गी, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल, कार्यकारी निर्देशक रमेश उप्रेती, थाहाखबरका प्रधान सम्पादक तीर्थ कोइराला लगायत पनि सहभागी थिए। 

आयोनले वृक्षारोपण अभियानमा एक वर्षभित्र विश्वका विभिन्न देशका पाँच लाख मान्छे सहभागी भएको बताइन्। जसबाट ती देशहरुमा रोजगारी सिर्जना हुनुका साथै पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको उनको भनाइ थियो। उनले भनिन्, 'यो अभियानमा विभिन्न देशका सफल महिलाहरुको उल्लेख्य सहभागिता रहेको छ।' उनले आफू बंगलादेश जान लागेको र अभियानमा सहभागी हुनेहरुको संख्या बढ्दै गरेको बताइन्।

दिनमा एक रुख रोप्नु पनि उपलब्धीपूर्ण हुने बताउदै उनले दिनदिनै आफ्नो अभियानले सफलता हात पारिरहेको बताइन्। उनलाई नाइजेरिया सरकारले पिस क्वीनको उपाधि दिएको छ भने क्यालिफोर्नियाको ब्रेभर्ली हिल्सले पिस लिडर घोषणा गरेको छ।

सामाजिक अभियन्ता अस्मिता सुमार्गीले वृक्षारोपणले भावी पुस्ताका लागि अमूल्य उपहार छाड्ने बताइन्। 'रुख रोपेर विश्वलाई राम्रो सन्देश गएको छ। यो हाम्रो पुस्ताले भावी पुस्तालाई दिने सम्पत्ति हो' उनले भनिन्। वृक्षारोपण पछि भएको कार्यक्रममा थाहा खबर प्रालीकी अध्यक्ष समेत रहेकी अस्मिता सुमार्गीलाई नेपालका लागि पिस लिडर घोषणना गरिएको थियो।

भारतको फस्ट स्टेप नेशनल अर्गनाइजेसनकी संस्थापक एवं महासचिव डा. विनिता कपुरले वृक्षारोपण अभियानले विश्व तापमान वृद्धिलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्। भारतका लागि पिस लिडर डा. कपुरले भनिन्, 'धर्म, जाति पछिको कुरा हो सबैभन्दा पाहिले हामी मानव हौं भन्ने सन्देश दिनलाई यो अभियान छानेका हौं। हामी यो अभियान सञ्चालन विश्व तापमानमा भइरहेको वृद्धि कम गर्न पनि वृक्षारोपणले सघाउ पुर्‍याउछ।' उनले यो अभियानमार्फत विश्व मानवताका क्षेत्रमा काम गरिरहेको बताइन्।

उनीहरुले बिहीबार श्रीवन स्थित पञ्चमहालक्ष्मीमा वृक्षारोपण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.