|

काठमाडौं : विश्व शान्तिका लागि विभिन्न देशमा सामाजिक काममा सक्रिय लेखक एवं अभियन्ता मुन्नी आयोन नेपाल आएकी छन्। बिहीबार भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित श्रीवनमा उनले वृक्षारोपण गरिन्। 'भविष्यको पुस्ताका लागि सर्वोत्तम उपहार, रुखहरु' सन्देशसहित उनले वृक्षारोपण गरेकी हुन्।

उनलाई वृक्षारोपण गर्न बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था बाल सारथी संगठनकी अध्यक्ष एवं सामाजिक अभियन्ता अस्मिता सुमार्गी र भारतको वेलफेयर नेशनल अर्गनाइजेसनकी संस्थापक एवं महासचिव डा. विनीता कपुरले साथ दिएका थिए। वृक्षारोपण कार्यक्रममा स्वामी कमलनयनाचार्य, व्यवसायी अजेयराज सुमार्गी, नेपाल-भारत मैत्रीसंघका अध्यक्ष राजकुमार सिन्धीं लगायत पनि सहभागी थिए। 

स्वामी कमलनयनाचार्यले वृक्षारोपण गरेर भावी पुस्ताले सम्झिने काम गरेको बताए। उनले भने, 'वृक्षारोपण सधैं रहिरहने वस्तु हो, तपाईंहरुले वृक्षारोपण गरेर भविष्यका पुस्ताको दीर्घायु र शान्तिको लागि उत्तम काम गर्नुभएको छ, तीजको दिन अमेरिकाबाट आएकी चेलीले वृक्षारोपण गरेकोमा विशेष धन्यवाद।' स्वामी कमलनयनाचार्यले आफूले पनि शिक्षा र विश्व शान्तिका लागि काम गरिरहेको बताए।

उनले आफूहरुले नेपालमा धार्मिक पर्यटक भित्र्र्‍याउन भूमिका निर्वाह गरेको बताए। 'सन् २००५ मा भारतको तमिलनाडुकी तत्कालिन मुख्यमन्त्री जयललीतासँग मुक्तियात्रा गर्ने पर्यटकलाई ५ हजार दिन आग्रह गरेका थियौं', उनले सम्झिए, 'उहाँले त्यतिबेला १ हजार दिनुभएको थियो, जुन अहिले २५ हजार पुगेको छ।' उनले गण्डकी नदीको शालिग्राम लगेर गएकोमा जयललीता खुसी भएको बताए।

नाइजेरिया, श्रीलंका भएर नेपाल आएकी आयोनले विश्व शान्ति अभियानमा लागेर एक अर्काका संस्कृति आदानप्रदान गर्ने, मानवीयता साट्ने, असहाय बालबालिका र महिलालाई सहयोग गर्ने गरेको बताइन्। उनी संयुक्त राष्ट्र संघको लस एन्जलिस च्याप्टरको बोर्ड अफ डाइरेक्टर हुन्। उनी ग्लोबल पिस लिडरको उपाधिले सम्मानित भएकी छन्। उनले विश्वका मानिसलाई ज्ञानमार्फत साथमा लिए विश्वमा शान्ति र सकरात्मक परिवर्तन सम्भव रहेको बताइन्।

आयोनले सौन्दर्यबारे विभिन्न पुस्तक लेखेकी छन् भने उनको पछिल्लो पुस्तक 'गेट ब्यालेन्सड' हो। उनले 'ग्रीन पोजिटिभ नान्नी', टिभी शो की प्रस्तोता हुन् भने हाल 'द मुन्नी आयोन शो' को होस्ट गरिरहेकी छन्। विभिन्न देशमा नागरिक अभिनन्दन ग्रहण गरेकी उनले समाजसेवाका क्षेत्रमा काम गरेवाफत अन्तर्राष्ट्रिय अवार्ड पनि पाएकी छन्। विभिन्न देशका विश्वविद्यालयहरुमा प्रवचन दिने, शान्ति स्थापनाका लागि स्थापना गरिएका संगठन र मानवअधिकारबारेका संगठनमा काम गर्ने संस्थाहरुमा प्रशिक्षण दिने गर्छिन्।

हेर्नुस् वृक्षारोपणका थप फोटोहरु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.