|
फाइल फोटो

कालिकोट : कर्णाली राजमार्ग सुर्खेतबाट दैलेख र कालिकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्ने मार्गलाई कर्णाली राजमार्ग अथवा सुर्खत–जुम्ला सडकखण्ड भनिन्छ। निर्माण कालको बेलामा सुर्खेत-जुम्ला राजमार्ग नाम राखिएको यो राजमार्ग विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भएको हो।

३० चैत ०६३ मा सञ्चालनमा आएको सुर्खेत जुम्ला राजमार्गको लम्बाइ २ सय ३२ किलोमिटर छ। साँघुरो बाटो र माओवादी सशस्त्र द्वन्द्वकालमा निर्माण कार्यमा विलम्ब भएकोले निर्माण कार्य पूर्ण हुन नसकेकाले यो मार्गमा यात्रुलाई सास्ती दिने गरेको छ।

बर्सेनि सवारीसाधन दुर्घटना भएर यस राजमार्गमा सयौंले ज्यान गुमाउने गरेका छन्। राजमार्ग सञ्चालनमा आएयता हरेक वर्ष सामान्य घटनाहरू घटिरहन्छन्। ०७३ सालसम्मको क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरका अनुसार यो राजमार्गमा २ सय २५ हाराहारी साना तथा ठूला सवारी दुर्घटना भएका छन् भने ३ सय १० जनाभन्दा बढीको ज्यान गएको छ।

कसरी बन्यो राजमार्ग?

०२२ मा राजा महेन्द्र कर्णाली भ्रमण आएको बेला कर्णाली राजमार्ग निर्माण गर्ने वचन कर्णालीवासीलाई दिएका थिए। त्यतिबेला नेपालगन्जसम्म कच्ची राजमार्ग बनेको थियो। सुर्खेतसम्म पनि राजमार्ग बनेको थिएन।

राजा महेन्द्रले वचन दिएको झन्डै २० वर्षपछि ०४१ र ०४२ सालमा कर्णाली राजमार्गको रेखांकन सर्भे गरिएको थियो। ०४२ मा सर्भे गरिए पनि ०४८ बाट सडक निर्माण सुरु गरिएको कालिकोटका पुराना राजनीतिज्ञ तथा अधिवक्ता हिक्मतबहादुर विष्ट बताउँछन्।

‘कर्णाली राजमार्ग बनाउने कुरा पञ्चायतकाल सुरुमा नै राजा महेन्द्रले गरेका थिए।’ उनी भन्छन्, ‘तर, बहुदलीय व्यवस्था आएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सरकारले २ करोड रुपैयाँ विनियोजन गरी कर्णाली राजमार्गको ट्र्याक खोल्ने काम सुरु भएको थियो।’

नेपाल सरकारले आफ्नै लगानीमा सुरु भएको कर्णाली राजमार्गको निर्माण कार्य ०५६ मा विश्व बैंकले हात हालेको थियो। विश्व बैंकले हात हालिसेकपछि मात्र कर्णाली राजमार्गको निर्माण कार्यले गति लिएको पूर्वसांसद नवराज कोइरालाले बताए। ‘नेपाल सरकारले आफ्नै लगानी निर्माण गर्न थालेको राजमार्ग बिश्व बैंकले हात हालेपछि मात्र निर्माण कार्यले गति लिएको हो।’ उनले भने, ‘त्यतिबेला माओवादीले सशस्त्र संघर्ष गरेको थियो। त्यो निर्माणको काम नेपाली सेनालाई जिम्मा दिइयो। सेनाले कठिनतापूर्वक २९ चैत ०६३  मा खलंगामा मोटरबाटो पुर्‍यायो।’

विश्व बैंककै सहयोगमा कालोपत्रे

स्थानीयले बारम्बार सडक स्तरोन्नतिको माग गरेपछि सन् २०१२ मे मा विश्व बैंकको अनुदानमा सुर्खेतदेखि खिडिकज्युलासम्म कालोपत्रेको काम थालिएको थियो। सडकलाई दुई खण्डमा गरी कालोपत्रे गरियो।

पहिलोपटक विश्व बैंकको अनुदानमा सुर्खेतदेखि खिडिकज्युलासम्म र पछि विश्व बैंककै ऋणमा खिडिकज्युलादेखि जुम्लासम्म कालोपत्रे गरिएको थियो। कालोपत्रे भएको १ वर्ष नपुग्दै उप्किन भने थालिसकेको छ।

राजमार्गमा अझै बनेका छैनन् पुल

कर्णाली राजमार्गको दैलेखको घट्टेखोला, साइखोला, कालिकोटका कालेखोला, टाकुल्ला र खल्लाघाट, बिहानी र सिम्लेगाड पुल निर्माण पूरा नहुँदासम्म जोखिम कायमै रहेका छ।  राजमार्गमा ७ पुल बन्दै गरे पनि सेरीघाटबाहेक सबैको काम अधुरो रहेको सडक डिभिजन कार्यालय जुम्ला जनाएको छ। आ.व. ०६८ र ७९ मा निर्माण कार्य सुरु भई २ वर्षमा सक्नुपर्ने भए पनि अझै काम अघि बढेको छैन।

दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड

कर्णाली राजमार्गमा दुर्घटना बढ्दै गएपछि रातीको समयमा गाडी नचलाउने निर्णय भएको छ। दुर्घटना न्यूनीकरणका लागि प्रहरीले टाइम कार्ड पनि लागू दुर्घटनामा केही न्यूनीकरण आएको जिल्ला ट्राफिक कार्यालय कालिकोटका प्रमुख सुजन पन्तले बताए।

‘सुर्खेत बसपार्कदेखि बड्डीचौरसम्म एक घण्टा ३० मिनेट, बड्डीचौर–तल्लोडुंगेश्वर ३ घण्टा, तल्लो डुंगेश्वर–राकम कर्णाली ३ घण्टा र राकम कर्णाली–जितेगडा २ घण्टा समय कार्डमा तोकेको छ।’ उनले  यस्तै, जितेगडा–कालिकोट एक घण्टा, कालिकोट खल्लाघाट र खल्लाघाट–जुम्ला ३ र ३ घण्टा समय तोकेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.