|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र पठाएको छ।

अस्पतालबाट निस्केको हानीकारक फोहरको उचित व्यवस्थापन नभएपछि काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७ बमोजिम जरिवानाको पत्र पठाएको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन्। 

ऐनबमोजिम रासायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, जोखिमपूर्ण फोहरमैला वा हानीकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्काशन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ।

यही कसुर दोहोर्‍याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ।

यस वर्ष पनि एभरेष्ट अस्पतालको फोहर व्यवस्थापन अनुगमन गरिएको ३ पटक भइसकेको छ। वातावरण व्यवस्थापन विभागका प्रमुख राईका अनुसार विगतको अनुगमन जोड्ने हो भने ६ पटकभन्दा धेरै भइसक्यो।

यसरी गरिएको अनुगमनका क्रममा सुधारका लागि सुझाव र सुधारको मौका दिने, अति लापरवाही देखिए फोहर ढुवानीमा रोक लगाउने गरिएको थियो। अस्पतालको अभ्यास चित्तबुझ्दो नभएपछि निगरानी निरन्तर गरियो। 

वातावरण व्यवस्थापन विभागका वरिष्ठ इञ्जिनियर निशा कोइराला भन्छिन्, ‘गएको असोज (२०८१) ३ गते भएको अनुगमनका क्रममा सुधार नदेखिएपछि असोज १४ गते अस्पतालका अधिकारीहरूलाई वातावरण व्यवस्थापन विभागका बोलाएर मापदण्डका विषयमा जानकारी दिँदै अस्पतालले पूरा गर्नुपर्ने दायित्वका विषयमा सम्झाइएको थियो, त्यसअघि अस्पतालले विभिन्न संस्थाहरूको नाम लिएर व्यवस्थापनको जिम्मेवारी दिएको बताउँदै आएका थियो, महानगरपालिकाले भने हानीकारक फोहर व्यवस्थापनको दायित्व अरूलाई दिन नमिल्ने, हानीकारक फोहरलाई आफैँ निर्मलीकरणको प्रबन्ध गर्नुपर्छ भन्दै आएको थियो।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.