काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य यूएईका अधिकारीसँग स्वास्थ्यका लागि सघाउन आग्रह गरेका छन्।
अबुधाबीमा त्यहाँका स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँगको शिष्टाचार भेटका क्रममा मन्त्री पौडेलले श्रमिकको स्वास्थ्यका लागि सहयोगको अपेक्षा गरेको बताए।
उनले श्रमिकको स्वास्थ्य रक्षाका लागि सरकारले चालेको कदममा यूएई सरकारबाट सहयोगको अपेक्षासमेत गरेका छन्।
मन्त्री पौडेलले नेपालले स्वास्थ्य क्षेत्रलाई डिजिटल प्रविधिमार्फत अगाडि बढाउन चाहेको र सर्वव्यापी स्वास्थ्य पहुँचअन्तर्गत स्वास्थ्य बीमा प्रणाली लागू गर्न चाहेको भन्दै नेपालमा मिर्गौला डायलासिस केन्द्रको स्तरोन्नति र विस्तार तथा अङ्ग प्रत्यारोपणका लागि सहयोग गर्नसमेत आग्रह गरे।
यूएईका स्वास्थ्य विभाग अध्यक्षले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्न तत्पर रहेको र दुई देशबीच सम्झौता गरी आपसी सहयोग र सहकार्य गर्नु आवश्यक रहेको बताए।
उनले यूएईमा रहेका नेपाली श्रमिकको प्रशंसा गर्दै नेपालसँगको सम्बन्धलाई अझ मैत्रीपूर्ण र प्रगाढ बनाउन यूएई नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार भएको तर यसका लागि नेपालबाट उपयुक्त वातावरण र कानूनी आधार तयार हुनु आवश्यक रहेको बताए।
भेटमा नेपाली राजदूत तेजबहादुर क्षेत्रीसमेत सहभागी थिए। मन्त्री पौडेल आइतवार आयोजना हुने नेपाल फेस्टिभलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने दूतावासले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।