पोषण, हात्तीपाइले औषधि अभियान र बाल स्वास्थ्य क्षेत्र पूरै प्रभावित

|

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी अन्ताराष्ट्रिय सहयोग नियोग (युएसएड)का कार्यक्रम रोक्दा नेपालको स्वास्थ्य सेवामा सक्रिय एनजीओ र आइएनजीओ बन्द हुन थालेका छन्।

विशेषगरी युएसएडको बजेट लगेर स्वास्थ्य मन्त्रालयसँग साझेदारी गर्दै आएका ती एनजीओ र आइएनजीओ अहिले अमेरिकी सरकारले एडको बजेट रोकिदिँदा बन्द हुने अवस्थामा पुगेका हुन्।

युएसएडको प्रत्यक्ष आर्थिक स्रोतबाट स्वास्थ्य सेवाका कार्यक्रममा साझेदार गरेका संस्थाहरू पिएसआई, आरटीआई, हर्ट इन्टरनेशनल, प्लान नेपाल, केयर नेपाल जस्ता ठूला आइएनजीओ बन्द हुन थालेका हुन्। यस्तै वन हर्ट वल्ड वाइड जस्ता स्वास्थ्य सेवाका ठूला गैरसंस्थाहरूको पनि बजेट कटौती हुने अवस्था भएको छ। 

स्वास्थ्य सेवासँग जोडिएका आइएनजीओहररूका बारेमा जानकारी राख्ने स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार पिएसआई असारसम्म बन्द हुने अवस्थामा पुगेको छ। अब यो संस्था नेपालबाट सधैँका लागि बिदा भएर जाने तरखरमा छ।

यस्तै युएसएडको पूर्ण आर्थिक सहयोग भएर सञ्चालनमा रहेका आरटीआई र हर्ट इन्टरनेशनल पनि बन्दको तयारीमा छन्। यस्तै हेलन केलर इन्टरनेशनलको पनि  ९० प्रतिशत सहयोग रोकिएको छ। एफएचआई ३६० को पनि ६० प्रतिशत सहयोग रोकिएको छ। केयर नेपालमा यूएसएडको सहयोग ८० प्रतिशत थियो। सेभ द चिल्ड्रेनको पनि ५० प्रतिशत सहयोग बन्द भएको छ।

आइएसआईको ४० प्रतिशत र आइपासको २० प्रतिशत बजेट कटौती भएको छ। वन हर्ट वर्ल्ड वाइडको ३० प्रतिशत युएसएडको बजेट कटौती भएको छ।

‘युएसएडको बजेट रोकिदा यसबाट आर्थिक सहयोग लगेर स्वास्थ्य सेवाका क्षेत्रमा काम गरिरहेका प्रायः एनजीओहरूका कार्यक्रम बन्द मात्रै होइन संस्था नै बन्द हुने अवस्थामा पुगेको छ’‚ स्वास्थ्य मन्त्रालयका ती अधिकारीले भने।

यी बलिया अन्ताराष्ट्रिय आइएनजीओहरूले नेपालमा लामो समयदेखि स्वास्थ्य, महिला स्वास्थ्य तथा बाल स्वास्थ्य, पोषण तथा वातावरण जस्ता क्षेत्रमा मन्त्रालयसँग सहकार्य गर्दै आएका छन्।

पोषण, हात्तीपाइले औषधि अभियान र बाल स्वास्थ्य क्षेत्रमा धेरै असर गर्ने

पिएसआई, आरटीआई, हर्ट इन्टरनेशनल, प्लान नेपाल, केयर नेपाल जस्ता ठूला आइएनजीओ बन्द हुने अवस्थामा पुग्दा नेपालमा स्वास्थ्य क्षेत्रमा तत्कालै पर्ने असर भनेको बाल स्वास्थ्य, पोषणका कार्यक्रम, हात्तीपाइले औषधि अभियान, जुकाको औषधि खुवाउने कार्यक्रम र सेभ द चिल्ड्रेनबाट सञ्चालित बाल स्वास्थ्य तथा मलेरिया रोकथाम जस्ता कार्यक्रमहरूमा हो।

यसरी यी कार्यक्रम एक्कासी बन्द हुँदा यी क्षेत्रमा हाल भइरहेका उपलब्धिहरू लगभग गुम्ने अवस्थामा पुग्ने छ। ‘युएसएड बन्द भएपछि यसको आर्थिक सहयोगमा चलेका केही ठूला आइएनजीओहरू बन्द हुँदा यसको असर हाम्रो बाल स्वास्थ्य पोषणका कार्यक्रमहरूमा असर गर्नेछ। यसको असर अहिलेभन्दा पनि अबको केही वर्षमा हाल भएका उपलब्धि गुमेपछि प्रत्यक्ष देखिन्छ’‚ मन्त्रालयका ती अधिकारीले भने।

यस्तै हाल निकै सफल मानिएको थापाथलीस्थित प्रसूतिगृहमा नवजात शिशुका लागि सञ्चालित मातृ अमृत कोष सञ्चालनमा पनि असर गर्ने भएको छ। महिना नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुलाई अरू आमाको दूध उपलब्ध गराउने गरी मातृ अमृत कोष कार्यक्रम यिनै दातृ निकायहरूको आर्थिक सहयोगमा चलेको थियो। अब यी संस्थाहरू बन्द हुने अवस्थामा पुग्दा अब कसरी सञ्चालन गर्ने भन्ने अन्योल देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने‚ ‘यो वर्षसम्म मातृ अमृत कोषसञ्चालनमा आर्थिक रूपले अप्ठ्यारो छैन‚ अर्को वर्षदेखि भने अप्ठ्यारो पर्न सक्छ।’

हाल परिवार कल्याण महाशाखाअन्तर्गत पोषण विशेष कार्यक्रमका दशवटा कार्यक्रम सञ्चालित छन्।  वृद्धि अनुगमन तथा परामर्श, रक्ताल्पताको रोकथाम तथा नियन्त्रण, भिटामिन ए को कमीको रोकथाम, नियन्त्रण तथा उपचार, जुका नियन्त्रण, शिशु तथा बाल्यकालीन पोषण कार्यक्रम, मातृ, शिशु तथा बाल्यकालीन पोषण कार्यक्रम, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन, बालभिटा वितरण, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, आयोडिनयुक्त नुनको प्रवर्धन जस्ता स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यक्रममा ठूला अन्ताराष्ट्रिय आइएनजीओहरूको सहयोग रहेको छ।

सन् २०३० सम्म पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनलाई १५, ख्याउटेपनलाई ४ तथा प्रजनन उमेरका महिलामा हुने रक्ताल्पताको समस्या १० प्रतिशतमा झार्ने सरकारको दिगो विकास लक्ष्य छ।

‘युएसएड बन्द हुँदा धेरै आइएनजीओ बन्द हुन थालेका छन्। यसले गर्दा स्वास्थ्य क्षेत्रका केही कार्यक्रम प्रभावित हुन देखिएको छ’‚ डा. बुढाथोकीले भने।

डब्लुएचओको २० प्रतिशत सहयोग कटौती भएको छ। डब्लुएचओले स्थायी कर्मचारीलाई हटाउन सेवा सुविधाको आकर्षक प्रस्ताव गरेको छ। युएनएफपिएको कुल बजेटको २० प्रतिशत रकम कटौती भएको छ। युएनएडको पनि १० प्रतिशत बजेट कटौती भएको छ। युएनडिपी र डब्लुएफपीको पनि सोही अनुपातमा बजेट कटौती भएको छ।

यसका साथै युएसएड बन्द हुँदा सेभ द चिल्ड्रेनको पनि ७० मिलियन बजेट काटिएको छ। यो ७० मिलियन डलरको बजेटमा हुने कार्यक्रम प्रायः स्वास्थ्य क्षेत्रकै कार्यक्रम रहेको छ।

यति मात्रै होइन युएसएड बन्द हुँदा नेपालमा प्रत्यक्ष रूपमा १० हजारजनाले रोजगारी गुमाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.