|

काठमाडौँ : नेपाली कांग्रेसका सांसद एवं काठमाडौँ मेडिकल कलेज र नोवल मेडिकल कलेका सञ्चालक डा. सुनिल शर्माले  चिकित्सक संघ, त्यहाँका अध्यक्ष डा. अनिल कार्की र डा.मंगल रावललाई अन्तरराष्ट्रिय दलाल भएको आरोप लगाएका छन्।

आगामी शैक्षिक सत्रमा निजी मेडिकल कलेजमा देखिएको स्नातकोत्तर (पीजी) तहको भर्ना र  चिकित्सकलाई दिने निर्वाह भत्ताको समस्या पेचिलो बन्दै गएका समयमा मेडिकल सन्चालकसमत रहेका सांसद शर्माले चिकित्सक संघ र त्यहाँका अध्यक्षलगायतका प्रतिनिधिले गर्दा अहिले समस्या आएको दावी गर्दै उनीहरूलाई अन्तरराष्ट्रिय दलालको संज्ञा दिएका हुन्।

पीजी भर्ना र भत्ताको समस्या समाधान गर्न गठित कार्यदललाई चिकित्सक संघले बहिष्कार गरेको सन्दर्भमा निजी कलेज संचालकहरूले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा शर्माले भने,‘समस्या समाधान गरौँ भनेर कार्यदल गठन भएको समयमा सहमतिको बाटोमा नआएर भाँड्दै हिड्ने डा.मंगल रावल र डा अनिल कार्कीले देशकै ठेक्का लिएको हो भने केही भन्न सकिँदैन तर होइन भने समस्याको समाधान दिनुपर्नेमा झन् गिजोल्दै गएको अवस्था छ, त्यसैले चिकित्सक संघ र यसका अध्यक्षसहितका प्रतिनिधि ठेकेदार र अन्तरराष्ट्रिय दलाल हुन्।’

निजी मेडिकल कलेजलाई धराशायी बनाउने‚ भर्ना रोक्ने, एड्मिसन नदिने, नयाँ समस्या झिकी विद्यार्थीलाई बाध्य बनाएर विदेश पढ्न पठाउने र नेपालभित्र निजी क्षेत्रका चिकित्सा शिक्षासम्बन्धी कलेज खत्तम गर्ने षड्यन्त्रप्रेरित काम भइरहेको उनले बताए।

मेडिकल कलेजमा विद्यार्थीलाई ४८ हजार तिर्न कुनै समस्या नरहेको तर बिचौलियाहरूले आफ्ना लागि निजी मेडिकललाई धराशायी बनाउने काम गरिरहेको उनले बताए। उनले बाध्यकारी व्यवस्था लागू गरेको खण्डमा ७ देखि ८ सय विद्यार्थी एमबीबीएस र एमएस पढ्न अर्को वर्षबाट वञ्चित हुने जिकिर गरे।

केही दिनअघि बसेको  चिकित्सा शिक्षा आयोगको १८औँ बैठकले शिक्षा सचिव डा. दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल  गठन गरेको थियो।

बैठकले निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकबाट १० दिनभित्र राय सुझाव पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।

कार्यदलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शिक्षाशास्त्र संकायका डीन डा. मोहन शर्मा, काठमाडौँ विश्वविद्यालय, चिकित्सा शास्त्र संकायका डीन डा. मनोज हुमागाईं, विज्ञहरू डा. भगवान कोइराला, डा. रमेशकान्त अधिकारी, डा. दिव्यासिंह शाह, डा. मंगल रावल तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की र एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र कार्की सदस्य रहेका छन्।

यसअघि गत माघ २५ गतेको आयोगको १६औँ बैठकले आवासीय चिकित्सकहरूको आन्दोलनको माग सम्बोधन गर्दै निजी मेडिकल कलेजले सरकारी सरह (आठौँ तह) को मासिक ४८ हजार ५०० निर्वाह भत्ता कायम गर्नुपर्ने निर्णय गरेको थियो। 

यही निर्णय अनुसार आयोगले निजी कलेजहरूलाई पटक-पटक सरकारी सरह भत्ता दिन निर्देशन दिँदा हालसम्म निजी मेडिकल कलेजले आयोगको उक्त निर्देशन कार्यान्वयन गरेका छैनन्।

जसका कारण तीन हप्तादेखि निजी कलेजमा अध्ययनरत पीजीका आवासीय चिकित्सक डिउटी छाडेर माइतिघर मण्डलामा धर्ना दिनेदेखि आयोगको कार्यालयसम्म घेरेर आन्दोलनमा उत्रिएका छन्।

आयोगको अर्को बैठक यही वैशाख १५ गते बस्ने कार्यतालिका छ त्यसवेलासम्म कार्यदलले हाल देखिएका चिकित्सकको निर्वाह भत्ता र निजी कलेजको पीजी भर्नाको विषयमा सहमति जुटाउनुपर्ने छ।

यही विषयले गत चैतबाट सुरु हुने पीजी तहको नयाँ शैक्षिक सत्र सुरु हुन पाएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.