काठमाडौं : निर्वाचन आयोगले शनिबार स्थानीय तह तेस्रो चरणको चुनावका उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ। विहान १० देखि ११ बजेसम्म स्थानीय तहमै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।
आयोगले शुक्रबार उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ताको समय दिएको थियो। शनिबार अन्तिम नामावली सार्वजनिक गरेलगत्तै साँझ ५ बजेसम्म उम्मेदवारहरुलाई चुनाव चिह्न वितरण गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
आगामी असोज २ गते हुने प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहको चुनावबाट ६ हजार ६ सय २७ उम्मेदवार निर्वाचित हुनेछन्। प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य पदमा ३६ हजार भन्दा बढीले उम्मेद्वारी दिएको आयोगले जनाएको छ।
यसैबीच, निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा चुनावको कार्यतालिका प्रकाशित गर्न अझै केही दिन लाग्ने जनाएको छ। मतपत्रको आकार र छपाइका लागि लाग्ने समयबारे जनक शिक्षा सामाग्री केन्द्रसँग छलफलको क्रममा रहेको आयोगका प्रवक्ता ढकालले बताए। मतपत्र छपाईको विषय टुंगिएपछि त्यहि अनुसार कार्यतालिका सार्वजनिक गरिने उनले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।