|

काठमाडौं :एमबीबीएस अध्ययन गर्न बंगलादेश गएका झण्डै दुई सय नेपाली विद्यार्थी अलपत्र परेका छन्। अलपत्र विद्यार्थीको उद्धारका लागि समन्वय गरिदिन भन्दै बंगलादेशस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखालाई पत्र पठाएको छ।

नेपालबाट मेडिकल शिक्षा अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थीहरू बंगलादेश जाने गरेका छन्। नेपालमा एमबीबीएसको सिट कटौती भएको मौका छोपी विभिन्न कन्सल्टेन्सीले सिट संख्याभन्दा बढी विद्यार्थी पठाउँदा समस्या देखिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ।

‘बंगलादेशमा कति विद्यार्थी अलपत्र परेका छन् भन्ने दूतावासले जानकारी दिएको छैन । विद्यार्थी सम्पर्कमा आउने क्रम जारी छ। अहिले प्राप्त जानकारीअनुसार दुई सयको हाराहारीमा  विद्यार्थी अलपत्र परेका छन्,’ काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने ।

बंगलादेशका ५० वटा मेडिकल कलेजमा नेपाली विद्यार्थी भर्ना भएको मेडिकल काउन्सिलले जनाएको छ । ‘अहिले केही विद्यार्थी न्यायको माग गर्दै बंगलादेशको अदालतसम्म पुगेको जानकारी आएको छ। अलपत्र परेका विद्यार्थीबारे सम्बन्धित निकायसँग समन्वय गरेर चाँडै निर्णय लिनेछौँ,’ शर्माले भने।

विभिन्न कन्सलटेन्सीले नेपालका मेडिकल कलेजको सिट संख्या घटेको फाइदा उठाउँदा विदेशमा विद्यार्थी अलपत्र परेको काउन्सिलले बताएको छ। ‘विद्यार्थी भर्ना हुने वेलामै मेडिकल काउन्सिलमा दर्ता हुनुपर्ने हो,’ डा। शर्माले भने, ‘तर, कलेजले विद्यार्थीलाई झुक्याएर अन्तिममा दर्ता गर्ने भन्दै राख्ने गरेको पाइयो । जसले गर्दा ठूलो रकम खर्च गरेर अध्ययन गरे पनि काउन्सिलले दर्ता नगर्दा विद्यार्थी समस्यामा परेका छन् ।’ बंगलादेशमा २३ वटा सरकारी कलेज र निजी मेडिकल कलेको संख्या ५४ वटा छन् ।

हाल बंगलादेशको बिजिसी ट्रस्ट चिटगाउँमा अध्ययनरत नेपाली विद्यार्थीहरूले एमबिबिएस अध्ययन पूरा गरिसकेका छन् । तर, कलेजहरूले स्वीकृत सिटभन्दा बढी विद्यार्थी भर्ना गरेको पाइएपछि बंगलादेश मेडिकल काउन्सिलले दर्ता गर्न मानेको छैन । जसले गर्दा सयौँ विद्यार्थी अलपत्र परेको नेपाली दूतावासले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.