|

रौतहट : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले बुथ कब्जा हैन जनताको मन कब्जा गर्ने पार्टी भएको बताएका छन्। रौतहटको चन्द्रनिगाहपुरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले मधेसी जनताको जन जनमा एमालेको मन भएको कारण २ नम्बर प्रदेशमा एमालेलाई पहिलो हुनबाट कसैले रोक्न नसक्ने दावी गरे।

एमालेले अरुको जस्तो आतंकको भाषा प्रयोग गरेर मत नमाग्ने बताउदै अध्यक्ष ओलीले भने 'अन्य ६ वटा प्रदेशमा जस्तै २ नम्बर प्रदेशमा पनि एमालेलाई पहिलो हुनबाट कुनै पनि शक्तिले रोक्न सक्दैन।'

ओलीले अरु पार्टीले चुनाव जिताइदिन विदेशीको शरण पर्ने गरेको आरोप समेत लगाए। 'अरु दलले चुनाव जिताइदिनुपर्‍यो भनेर विदेशीकहाँ शरण पर्न जान्छन् तर नेकपा एमाले जनताको शरणमा चुनाव जिताई दिनुपर्‍यो भनेर जाने गरेका कारण स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको र २ नम्बरमा समेत पहिलो पार्टी बन्ने छ।'

सत्तामा रहेका लम्पसारवादीहरुका कारण देशमा विकास हुन नसकेको बताउदै अध्यक्षले भने 'केही दलले चोरबाटोबाट संविधानमा अरु भाषालाई सम्पर्क भाषा बनाउन गरिएको षडयन्त्रले तराई मधेसका स्थानीय भाषालाई लोप गराउने तयारी गरेका थिए तर एमालेले त्यस्तो देशघाती निर्णयलाई पास हुन दिएन।'

अन्य दलले हिमाल, तराई र पहाडबीच फाटो ल्याउने काम गरेको र नेकपा एमालेले सामाजिक सद्भावको पक्षमा रहेको अध्यक्ष ओलीले बताए। कांग्रेस, माओवादी केन्द्रप्रति लक्षित गर्दे अध्यक्ष ओलीले २ नम्बर प्रदेशमा चुनाव जित्नका लागि सत्ताको दुरुपयोग र भ्रष्टाचारको पैसाको खोलो बग्ने हुदा त्यस प्रति सजग रह्न कार्यकर्ताहरुलाई आग्रह गरे।

जिल्लाको चन्द्रपुर नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसले शुक्रबार शक्ति प्रर्दशन गरेका छन्। नेपाली कांग्रेसले नगरभरी नै शुक्रबार दिउँसो चारबजेदेखि मोटरसाइकल र्‍याली गरेको थियो।

रौतहट जिल्लाभरी नै चासो र चर्चामा रहेको चन्द्रपुर नगर प्रमुखमा नेकपा एमालेबाट उद्धव रेग्मी, नेपाली कांग्रेसबाट रामचन्द्र चौधरी र माओवादी केन्द्रबाट युवराज भट्टराई उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.