|
फाइल फोटो थाहाखबर

काठमाडौं : निर्वाचन आयोगले २ नम्बर प्रदेशमा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा फोटो सहितको मतदाता परिचय पत्र नभएका तर मतदाता नामावलीमा नाम भएकाहरुलाई भोट हाल्न वैकल्पिक व्यवस्था गरेको छ।

आयोगका सह प्रवक्ता मुकुन्द शर्माले कतिपय मतदाताले फोटो सहितको परिचयपत्र नहुन सक्ने अवस्थामा वैकल्पिक व्यवस्था गर्नुपरेको बताएका छन्। उनका अनुसार 'निर्वाचन आयोगले मतदाताले कुनै कारणवशः फोटो सहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न वैकल्पिक व्यवस्था गरेको छ।'

निर्वाचन आयोगले नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ।

त्यसैगरी, मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी मतदाताको नागरिकता प्रमाणपत्रको विवरणलाई आधार मान्दै मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ।

सोमबार हुने मतदानका लागि प्रदेश नम्बर २ मा आज पनि फोटो सहितको मतदाता परिचयपत्र वितरको काम भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.