|

काठमाडौं: प्रमुख दुई वामपन्थी दल एमाले र माओवादी केन्द्र एउटै कम्युनिस्ट पार्टी बनाउन सकारात्मक बनेका छन्। यी दुई पार्टीबीच यस विषयमा औपचारिक रूपमै छलफल सुरु भएको छ। दुवै पार्टीका अध्यक्षसहितका शीर्ष नेतृत्व तहले नै एउटै कम्युनिस्ट पार्टी बनाउने विषयमा छलफल चलाएका छन्।

तीन दिनयता शीर्ष तहमा चुनावी तालमेलदेखि पार्टी एकताका विषयमा केन्द्रित छलफलपछि दुवै पार्टी एकताकै तहमा पुगेका हुन्। दुई वामपन्थीबीच एकता हुने स्तरसम्मै छलफल चलेपछि राजनीतिक तहमा नयाँ तरंग पैदा भएको छ। यसबारे टुंगोमा पुग्न शीर्ष नेतृत्वबीच मंगलबार थप छलफल हुने माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अन्नपूर्णलाई जानकारी दिए। ‘दुवै पार्टी नेतृत्वका बीचमा छलफल गर्दै जाँदा तालमेल र पार्टी एकतासम्मकै प्रस्ताव बनेको हो’, नेता श्रेष्ठले भने, ‘पहिलेदेखि दुई पार्टीबीच छलफल चल्दै आएको थियो, अहिले त्यसले बढी मूर्तता पाउन लागेको हो। तर, टुंगोमा पुगिसकेका छैनौं। (मंगलबार) हामी दुवै पार्टीको शीर्ष तहमा छलफल गरेर एउटा टुंगोमा पुग्ने प्रयास गर्छौं।’

पार्टी एकताकै लागि निर्णय लिन दुवै पार्टीले एकता संयोजन समितिसमेत गठन गर्ने भएका छन्। त्यसका लागि निर्णयमा पुग्न एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू माधवकुमार नेपाल र वामदेव गौतम अनि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू श्रेष्ठ र रामबहादुर थापाले जिम्मेवारी पाएका छन्। आइतबार बसेको एमाले स्थायी समिति र माओवादी केन्द्रको सोमबार बसेको सचिवालय बैठकले थप छलफल गरी निर्णयमा पुग्न जिम्मेवारी दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.