|

काठमाडौं : राजनीतिक दलहरूले चुनावकै लागि गठबन्धनहरू बनाइरहेका बेला निर्वाचन आयोगले आगामी निर्वाचनलाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पार्ने कुनै गतिविधि नगर्न÷नगराउन सरकार, दलहरू र सरोकारवालासित आग्रह गरेको छ।

दुई ठूला कम्युनिस्ट पार्टीले वाम गठबन्धन गर्दा एक्लिएको महसुस गरेको सत्तारूढ नेपाली कांग्रेसले चुनाव सार्न सक्ने विभिन्न कोणबाट कुराहरू आउन थालेपछि सतर्क गराउन विज्ञप्ति निकालिएको आयोग स्रोतले जनाएको छ।

‘दिनदिनै नयाँ राजनीतिक घटनाक्रम विकास भइरहेका छन्, त्यसले आगामी चुनावलाई कुनै प्रकारले प्रभावित नपारोस् भन्ने हो,’ स्रोतले भन्यो, ‘आयोगको चासो र सतर्कता चुनाव कहीँ कतैबाट प्रभावित नहोस् भन्नेमै छ ।’ 

निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने आयोगको चासोलाई सामान्य रूपमा लिन आग्रह गरे । उनले निर्वाचनको तयारीले प्रशस्तै गति लिइसकेकाले त्यसमा प्रतिकुल हुने गरी कोही कसैबाट कुनै अप्रिय काम नहोस् भन्नेतर्फ मात्रै आयोगले ध्यानाकर्षण गराएको बताए। ‘निर्वाचनप्रति कोही कसैमा पूर्वाग्रह नहोस् भन्नेमा आयोगले चासो मात्रै राखेको हो,’ उनले भने।

आयोगले जारी गरेको विज्ञप्तिमा मंसिर १० र २१ गते दुई चरणमा हुने निर्वाचनका लागि आवश्यक तयारी चरणबद्ध रूपमा बढिरहेको उल्लेख छ। ‘मुख्य निर्वाचन र निर्वाचन अधिकृतहरूको नियुक्तिदेखि समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचन प्रक्रियाको थालनी र मतपत्र छपाइसमेत सुरु भइसकेको छ,’ प्रवक्ता नवराज ढकालले भने, ‘निर्वाचन तयारीमा आयोग पूर्णरूपेण खटिएको छ। यस्तो बेला निर्वाचनलाई प्रतिकुल हुने गरी कसैबाट कुनै पनि गतिविधि नहोस् भन्ने आयोगको आग्रह हो।’ 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.