|

काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसले संविधान सभा निर्वाचन र स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी बनेका तथा तिनका समर्थक र प्रस्तावकलाई प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा टिकट नदिने  भएको छ।

त्यस्तै स्थानीय तह निर्वाचनमा पराजित भएकालाई पनि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले समानुपातिकबाट हाल व्यवस्थापिका संसद् सदस्य रहेकालाई पुनः समानुपातिक उम्मेदवार नबनाउने निर्णय गरेको हो।

उनीहरू अब प्रत्यक्ष निर्वाचन प्रणालीबाट भने लड्न पाउनेछन्। कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले अघिल्लो पटक समानुपातिक सांसद बनेकालाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सूचीमा समावेश नगर्ने निर्णय भएको बताए। ‘अघिल्लो पटक समानुपातिक प्रणालीमार्फत सांसद बनेकाको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नाम समावेश हुँदैन, उहाँहरू अब प्रत्यक्षबाट निर्वाचनमा सहभागी हुन सक्नुहुन्छ,’ नेता  रिजालले भने।

रिजालका अनुसार पहिले समानुपातिकको सूचीमा परेका तर सांसद नभएकाहरूले भने उम्मेदवार बन्न पाउनेछन्। बैठकमा यसअघि नै कार्यसम्पादन समितिले गरेको निर्णयअनुसार महामन्त्री शशांक कोइरालाले स्थानीय तह निर्वाचनमा हारेका उम्मेदवारलाई पुनः उम्मेदवार बनाउन नहुने र अघिल्लो पटक समानुपातिक निर्वाचनमार्फत सांसद बनेकालाई पुनः समानुपातिक सूचीमा समावेश गर्न नहुने भन्दै उम्मेदवार छनोटका लागि मापदण्ड बनाउनुपर्ने प्रस्ताव राखेका थिए।

स्थानीय तहमा पराजित भएका धेरै नेताले प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार बन्ने आकांक्षा राखेका छन्। साथै पराजित उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिससमेत भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.